काठमाडौं । जलजला गाउँपालिकामा पहिरोले बस्तीमा ठूलो क्षति पु-याएको छ । जलजला–५ कुवापानीको पहाडबाट खसेको पहिरोले जलजला–२ पूर्णगाउँ, मूलघडेरी, नेपानेका सात वटा घर विस्थापित भएका छन् भने झण्डै ८५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ ।
असार दोस्रो सातादेखि पानी परेको समयमा आएको लेदोसहितको पहिरोले हालसम्म सात वटा घरपरिवार विस्थापित भएको जलजला–२ का निवर्तमान वडाध्यक्ष गोविन्द खत्रीले जानकारी दिए । “पानी पर्नासाथ पहिरो खस्ने समस्या छ, अहिले सात वटा परिवारले बस्दै आएको घर छाडेर अन्यत्र विस्थापित भएका छन् ” खत्रीले भने ।
उनका अनुसार नगेन्द्र कार्की, पदम कार्की, रवीन पुन, डम्बर खत्री, लालबहादुर जिसी, रेशमबहादुर काकी र डेकबादुर कार्की गरी सात वटा घर जोखिममा छन् । दुई वटा परिवार काठमाडौँ बस्न थालेपनि अहिले पाँच वटा परिवार बिचल्लीजस्तै अवस्था रहेको उहाँले जानकारी दिए । पाँच परिवार अहिले स्थानीय सामुदायिक भवन र आफन्तको घरमा शरण लिन बाध्य छन् । पहाड चिरा–चिरा परेर बसेका कारण पानी परेको समयमा त्यस क्षेत्रका बस्ती निकै खतरामा परेका छन् ।
कुवापानीको जङ्गलबाट आएको पहिरोसहितको लेदोले आफ्नो मात्रै झण्डै ५० रोपनी बढी जमिन बगर बनेको पहिरोबाट विस्थापित पदम कार्कीले बताए । “पानी नपर्दाको समयमा आफ्नो घरमा खाना पकाएर खाए पनि रात बिताउन हामी नवजागरण महिला आमा समूहको सामुदायिक भवनमा जाने गरेका छौ ”, उनले भने । पहिरोले गर्दा खेतबारीमा लगाएको मकै, सिमी, कोदो, धान नष्ट गरेको छ ।
“अन्नबाली लगाएको ठाउँ बगरमा परिणत भएको छ”, पहिरोले पु¥याएको क्षति देखाउँदै कार्कीले भने “अब के खाने, कहाँ गएर बस्ने रु” हालसम्म पहिरो रोक्न, विस्थापित भएकाको बासस्थानको उपयुक्त प्रबन्ध हुन नसकेको डम्बर खत्रीले गुनासो गरे ।
पहिरोकै कारण पूर्णगाउँमा रहेको बराहताल लेदोले पुरिएको छ । त्यहाँ रहेका कार्की र घर्तीका दुई मन्दिरमा क्षति पुगेको छ । त्यसैगरी मल्लाज हुँदै मालगाउँबाट म्याग्दीको नागीजाने सडक पूर्णरुपमा क्षतिग्रस्त भएको छ । सडकको ठाउँठाउँमा ठूलाठूला खाडल बनेपछि उक्त सडकमा सवारीसाधन ठप्प भएको छ ।
जलजला गाउँपालिकाका निवर्तमान अध्यक्ष यामबहादुर मल्ल ९रामकृष्ण० ले मानवीय क्षति नभए पनि पहिरोले ठूलो भौतिक क्षति भएको बताए । उनले पहिरोले जलजलाको दुई वटा वडाको बस्तीलाई ठूलो क्षति पु¥याउने देखिएकाले दीर्घकालीन रुपमा बस्ती, खेतीयोग्य जमिन, बराह ताल, जिसी र कार्कीको कुल मन्दिर, दुई वटा वडाको ठूलो बस्ती जोगाउन गुरुयोजनाका साथ तीन वटै सरकार जुट्न आवश्यक देखिएको बताए ।
पहिरो नियन्त्रणका लागि भू–तथा जलाधार ब्यवस्थापन कार्यालय र पूर्वाधार विकास कार्यालयको स्टिमेटअनुसार प्रदेश सरकारले तत्काल केही बजेट विनियोजन गरेर संरक्षण तथा पहिरो नियन्त्रणको काम अगाडि बढ्ने पनि उनले जानकारी दिए ।
दुई कार्यालयका प्राविधिकसहितको टोलीले मङ्गलबार पहिरो र त्यसले पु¥याएको क्षतिको निरीक्षण गरेका थिए । भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका प्रमुख दिवाकर पौडेलले चर्किएको पहाडको डिललाई तत्काल व्यवस्थापन र संरक्षण गर्न सम्भव नरहेको बताए । उनले बाढीपहिरोबाट बस्ती, खेतीयोग्य जमिनमा थप क्षति हुन नदिन व्यक्तिको जग्गालाई मुआब्जा दिएर बाढी नियन्त्रण र संरक्षणको काम गर्नुपर्ने देखिएको पनि धारणा राखे ।
“कुवापानीको पहिरोलाई केही गर्न सकिँदैन, भूगर्वविद लिएर अध्ययन गर्नुपर्छ, एकसय मिटर चौडाइमा पहाड फाटेको छ, पानी पर्ने बित्तिकै जमिन बग्न थाल्छ”, उनले भने । “अहिले तत्कालका काम भनेकै विस्थापित भएकाको व्यवस्थापन, पहिरोबाट थप क्षति हुन नदिन संरक्षण, पुरिएको बराह तालको माटो फाल्ने र सडक स्तरोन्नति गर्ने नै हुन्”, पौडेलले भने ।