जोडिनुहोस
  • होमपेज
  • सुर्खेतमा १ सय ३७ महिला घरमै सुत्केरी

सुर्खेतमा १ सय ३७ महिला घरमै सुत्केरी

सुर्खेत जिल्लामा एक वर्षको अवधिमा एक सय ३७ गर्भवती महिलाहरू घरमै सुत्केरी भएको पाइएको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार गत आर्थिक वर्षमा एक सय ३७ गर्भवती स्वास्थ्य संस्थामा नगएर घरमै सुत्केरी भएका हुन् । जवकि यसरी घरमै सुत्केरी गराउनुलाई स्वास्थ्यका हिसावले असुरक्षित मानिन्छ । तर स्वास्थ्य संस्थामा सुत्केरी गराउन आम महिलाहरूलाई प्रेरित गर्न सरकारले ल्याएका विभिन्न कार्यक्रमका बावजुद सुर्खेतका ती महिलाहरू असुरक्षित रुपमा सुत्केरी भएका हुन् ।

नौ वटा स्थानीय तह रहेको सुर्खेतमा विशेषगरी ग्रामीण र दुर्गम पालिकामा घरमै सुत्केरी हुने गरेको पाइएको छ । पश्चिमको चौकुने गाउँपालिकामा सबैभन्दा धेरै ५१ जना महिला घरमै सुत्केरी भएका छन् । त्यसपछि धेरै महिला घरमै सुत्केरी हुने पालिकामा भेरीगंगा नगरपालिकामा रहेको छ । भेरीगंगामा २२ जना महिला घरमै सुत्केरी भएका छन् ।

यस्तै पंञ्चपुरी नगरपालिकामा २० जना, बराहताल गाउँपालिकामा १६ जना महिला घरमै सुत्केरी भएका छन् । प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकामा १३ जना महिला घरमै सुत्केरी भएको कार्यालयले जनाएको छ ।

कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेत स्वास्थ्य उपचारको सुविधाका दृष्टिले निकै सुगम मानिन्छ । जहाँ प्रदेश अस्पतालसहित दुईवटा ठूला सरकारी अस्पताल छन् । स्वास्थ्य चौकी ४७, आधारभूत स्वास्थ्य सेवा केन्द्र ४५, प्रयोगशाला भएका स्वास्थ्य संस्था २६ वटा छन् । ९९ वटा वडा रहेको सुर्खेतमा स्वास्थ्य संस्था नभएको वडा छैन ।

कार्यालयका उदय विसीले यो अवधिमा पाँच वर्षमुनिका ५१ जना बालबालिका र दुई जना आमाको पनि मृत्यु भएको बताए । घरमा सुत्केरी गराउँदा जोखिम हुन्छ भन्ने जान्दाजान्दै पनि लापर्बाही, हेलचेक्र्याइँले गर्दा अझै पनि घरमै सुत्केरी हुने चलन कायमै रहेको उनले बताए । सबै सुत्केरीलाई स्वास्थ्य संस्थामा प्रसूति गराउने सरकारको लक्ष्य भए पनि पूरा गर्न नसकिएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका