काठमाडौँ– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जाजरकोट केन्द्रबिन्दु भएर गए राति गएको भूकम्पमा परी ठूलो मानवीय क्षति भएको खबरले दुखित भएको उल्लेख बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत प्रभावित क्षेत्रमा तत्काल उद्धार टोली खटाएर घाइतेको उपचार गर्न सरकारसँग माग गर्नुका साथै प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्याउने प्रबन्ध गर्न पनि अनुरोध गरेका छन् ।
सभापति देउवाले भूकम्पमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन् ।
सभापति देउवाले कांग्रेसको सम्पूर्ण पार्टी निकायलाई भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्निर्माणमा जुट्न निर्देशन समेत दिएका छन् ।
जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर १ रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार मध्यराति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पले जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुम पश्चिममा ठूलो क्षति पुगेको छ ।