भरतपुर (चितवन) । चितवनको इच्छाकामना गाउँपालिका–२ वर्लयाङका शेरबहादुर प्रजाको घर रिग्दी खोलाको छेउमै छ । यही खोलाको पानीले उनले पानीघट्ट चलाउँदै आएका छन् ।
रिग्दीको चिसो पानीमा दैनिक खेल्दै आएका प्रजाले यहाँको असला माछा खान नपाएको धेरै भइसक्यो । पहिले दैनिकजसो माछा मारेर खाने गरेको अनुभव सुनाउँदै उनले अहिले साना भुरा माछा पनि पाइन छाडेको बताए ।
चितवनको अग्लो पहाड सिराइँचुली क्षेत्रको मुहानबाट बग्दै त्रिशूली नदीसम्म पुग्ने खोला हो रिग्दी । यो खोला कुनै समय असला माछाका कारण निकै परिचित भएकामा अहिले यहाँका असला माछा सङ्कटमा परेका छन् ।
खोलामा जथाभावी विषादीको प्रयोग, विद्युतीय माध्यमबाट माछा मार्ने र डोजरको प्रयोगका कारण खोलामा रैथाने माछा हराउन थालेको स्थानीयवासीले बताए । निकै स्वादिलो र सबैले रुचाउने माछा संरक्षण नहुँदा हराउँदै गएको पानीघट्ट सञ्चालक प्रजाले बताए । “पहिले–पहिले गाई तर्दा पनि खुरले कुल्चेर माछा मथ्र्यो”, उनले भने, “अहिले भुरा देख्न पनि मुस्किल छ ।”
“विषादी हाल्ने र करेन्ट लगाउनेजस्ता गतिविधिलाई स्थानीय सरकारले रोक्न सक्नुपर्छ”, पानीघट्ट सञ्चालक प्रजाले जोड दिए, “लुकिछिपी अझै यस्ता गतिविधि हुने गरेका छन् । परम्परागत शैलीमा माछा मार्न दिइए र करेन्ट लगाउनेलाई सरकारले कारबाही गर्ने हो भने यहाँको माछा संरक्षण गर्न सकिन्छ । ”
मायाटारका टीकाबहादुर गुरूङले पहिले पहिले जाल खेल्दै जाँदा पाँच÷छ पटकमा फुर्लुङ भरिने गरे पनि अहिले दिनभर खोलामा हिँड्दा पनि एकछाक खान पुग्ने माछा पाउन मुस्किल हुने गरेको बताए । स्थानीय सरकारले रिग्दीको असलालाई संरक्षण र यसैलाई ‘ब्रान्ड’ बनाएर समग्र इच्छाकामनालाई पर्यटकीय गन्तव्य बनाउन सकिनेमा उनले जोड दिए ।
गाउँपालिकाले भने खोलामा जथाभावी गर्नेलाई कारबाही गर्दै आएको जनाएको छ । पछिल्लो केही वर्षदेखि खोलामा विषादी नराख्न र करेन्ट नलगाउन पटकपटक सूचना जारी गर्दै आएको भन्दै पहिलेको तुलनामा केही कमी आएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले जानकारी दिए । “हामीले सूचना पनि जारी गर्दै आएका छौँ । स्थानीयवासीलाई पनि सचेत गराएका छौँ”, उनले भने, “सूचनालाई बेवास्ता गर्नेलाई कारबाही पनि गर्दै आएका छौँ । त्यसकारण पहिलेको तुलनामा असला संरक्षणमा टेवा पुगेको छ ।”
आउँदो वर्षदेखि बजेट नै छुट्याएर रिग्दीको असला संरक्षणको योजना ल्याउने तयारी गरिरहेको अध्यक्ष गुरूङले बताए । इच्छाकामनाको वडा नं १ मा पर्ने सिराइचुलीको वरिपरिबाट बगेका साना दुई खोला तल्लो काउलेमा आएर मिसिएको छ ।
वडा नं १ पछि वडा नं २ र ७ सँगै त्रिशूलीसम्म आइपुग्दो वडा नं ६ र भरतपुर महानगरपालिकाको वडा नं २९ लाई सिमाना छुट्याएर बगेको छ । रिग्दीमा मात्र होइन पछिल्लो समयमा जिल्लाका अधिकांश खोलामा विष हाल्ने र करेन्ट लगाएर माछा मार्नेको सङ्ख्या बढेको संरक्षणकर्मीको भनाइ थियो ।
असला माछाले वनस्पतिजन्य सुक्ष्म जीव लेउ, पानीमा बस्ने गँगटा, झिँगे माछा, शङ्खे किरा, जलीय झारपात र किराफट्याङ्ग्राको आहारा गर्ने मत्स्य विज्ञले बताए । असला माछा उच्च तथा पहाडी भेगका नदीनाला र तालतलैयामा पाइन्छ । दसदेखि १५ डिग्री तापक्रममा यो माछा बाँच्छ ।
यसको शरीर कत्लाले ढाकिएको हुन्छ । असलाले चिसो र बग्ने पानी मन पराउँछ । यो माछाको १७ प्रजातिमध्ये नेपालमा नौ प्रजाति रहेको बताइन्छ । असला माछाले कात्तिक÷मङ्सिर र माघ/फागुनमा प्रजनन गर्छ । मनिसलाई चाहिने प्रोटिनको भरपर्दो र सर्वोत्तम स्रोतका रुपमा असला माछालाई लिइन्छ । नेपालमा छ सयदेखि ३५ सय मिटरको उचाइसम्म असला माछा पाइन्छ ।