गलेश्वर (म्याग्दी) । केही दिनअघि म्याग्दीको बेनी नगरपालिका–८ जलेश्वरका इन्द्र बरुवालको खेतबारीमा लगाएको तरकारी एक हुल बाँदरले नष्ट गरेका छन् । करिब दुई सयको सङ्ख्यामा आएका बाँदरले छानामा राखेको फर्सी पनि छोडेनन् ।
पश्चिम म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट र वडा नं २ रुममा बँदेलले खेतबारीमा रजाइँ गर्न थालेको धेरै भयो । गत साता घर भित्र नै बँदेल छिरेर टेकबहादुर विक र मङ्गल सुनारको परिवारलाई आतङ्कित बनायो । बेनी–बागलुङ सडकमा चितुवालगायत जङ्गली जनावर गुडिरहेका सवारी साधनमा ठोक्किएर पछिल्लो एकसातायता दुईवटा दुर्घटना भएका छन् ।
यी म्याग्दीमा जङ्गली जनावरले दुःख दिएका केही प्रतिनिधिमूलक घटनाहरु मात्र हुन् । विगत दुई वर्षयता जङ्गली जनावरको आतङ्क बढ्दै गएपछि पशुचौपायाका साथै मानिसलाई समेत खतरा उत्पन्न भएको स्थानीय बताउँछन् । वन्यजन्तुले खेतीबाली र बाख्रा खान थालेपछि ग्रामीण क्षेत्रका बासिन्दा समस्यामा परेका छन् । सडक छेउछाउमा चितुवा देखिन थालेपछि दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ ।
जङ्गल नजिकका गाउँमा चितुवा, बँदेल, बाघ, मृग, भालुलगायत जनावरले दुःख दिने क्रम बढेको मालिका–१ का तिलमाया पुनले बताए । उनका अनुसार पछिल्लो सयम चितुवाले खोरबाटै बाख्रा लगेपछि व्यावसायिक बाख्रापालन गर्दै आएका कृषक समस्या छन् । बाँदर र बँदेलले खेतीबाली नष्ट गर्नुका साथै घरभित्र पसेर थन्काइएको अन्नसमेत खाने, स्थानीयलाई आतङ्कित बनाउने गरेको पुनले बताए ।
“मान्छेलाई नै आक्रमण गर्न खोज्छन् । अन्नबाली नष्ट गर्नुका साथै स्थानीयमा डर पैदा गरेका छन्”, जलेश्वरका इन्द्र बरुवालले भने । उनले दैनिकजसो बाँदरको उपद्रो नियन्त्रणका लागि सरोकारवाला निकायलाई सहयोगका लागि अनुरोध गरिरहेको बताए ।
विगतमा देखिने बाँदरजस्तो नभई कुनै सहरी क्षेत्र वा धेरै मान्छेको हुलमुलबाट ल्याएको जस्तै देखिने बरुवालले बताए । उनका अनुसार एक पटक लखेटेका बाँदर फेरी बस्ती आसपासमा आउने गरेका छन् । समूहमा हिँड्ने र बालीनालीलाई एकैछिनमा सखाप पार्ने हुँदा किसान बाँदरबाट आक्रान्त बनेका उनको भनाइ थियो ।
जलेश्वर र गलेश्वर क्षेत्रमा देखिएका बाँदरको चरित्र र आनीबानीबारे अनुसन्धान गर्न स्थानीयबासीले जनप्रतिनिधिलाई समेत अनुरोध गरेका छन् । पहिले जङ्गलमै भुल्ने बाँदर बस्तीतिर सरेपछि सर्तकता अपनाउनुपर्ने डिभिजन बन कार्यालय म्याग्दीले जनाएको छ ।
फलफुलको सिजनमा बाँदर बस्तीतर्फ आउने र आङ्तक मच्चाउने गरेपनि बाँदर व्यवस्थापनका लागि ठोस नीति र कार्यक्रम तय गर्नु आवश्यक रहेको सहायक वन अधिकृत चन्द्रमणी सापकोटाले बताए । धपाउने, लखेट्ने परम्परागत विधिले मात्र अब बाँदर नियन्त्रण सम्भव नहुने उनको भनाइ थियो ।
सापकोटाले बाँदरबाट प्रभावित किसानलाई बाँदरले प्रयोग नगर्ने वा वैकल्पिक पेसा रोज्नुपर्ने बताए । म्याग्दीका बस्तीमा बाँदरको आङ्तकले खेतीपाती र फलफुलको सिजनमा किसान चिन्तित हुने गरेका उनको भनाइ थियो ।
बँदेलले रातारात आलु खेती नष्ट गर्ने क्रम बढेको आलु किसान बताउँछन् । हुलकाहुल आउने बँदेलले एक रातमा ठूलो क्षेत्रको आलु खेती नष्ट गरेका मालिका–१ का किसान टेकबहादुर पुनले बताउछन् । “बाँदर र बँदेलले खेतीबाली नष्ट गरेर धेरै क्षति पुर्याइरहेका छन्”, उनले भने, “अझ चितुवाले बाख्रासमेत मार्ने क्रम बढ्दा धेरै कृषकले नोक्सानी व्यहोर्नुपरेको छ ।”
बाँदर थपाउन खोज्दा उल्टै आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित छन् । बालबालिकालाई आक्रमण गर्ने चिन्ता बढेको स्थानीय बताउँछन् । पछिल्लो एकसाता यता बेनी–गलेश्वर सडकखण्ड आसपासका क्षेत्रमा ठूलो सङ्ख्यामा भेटिने बाँदर कतैबाट ल्याएर छोडेजस्तै देखिने स्थानीयको भनाइ छ ।
बेनी नगरपालिका–३ लहरेनीका तिला चर्मकारले गाउँमा खेतीबाली र पशुचौपाया जङ्गली जनावरले नष्ट गरिदिन थालेपछि आफूहरु हैरान परेको बताए । “दिनमा बाँदरले सताउँछन् । राति चितुवा कति बेला खोरमै आएर बाख्रा, कुखुरा लैजान्छ पत्तो हुँदैन”, उनले भने, “यो गाउँका हरेकजसो घरका बाख्रा चितुवाले मारेको छ ।”
“जङ्गल क्षेत्रमा आहारा कम पाइन थालेकाले पनि हुन सक्छ जङ्गली जनावरको बिगबिगी गाउँ तथा बस्तीमा बढेको छ”, डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत सापकोटाले भने । यहाँका जङ्गल आसपासका क्षेत्रमा बस्ती विस्तार हुँदा चितुवाको बासस्थान सुरक्षित नहुनु, चितुवाको आहार प्रजातिमा उल्लेखनीय कमी आउनु, प्राकृतिक आनिवानीमा परिवर्तनलगायत कारणले चितुवालगायत जङ्गली जनावर आक्रामक बन्दै गएका उनले बताए ।
वनजङ्गलमा लागेको डढेलोका कारण अहिले बासस्थान खलबलिएको अवस्थामा मानव र चितुवाको जम्काभेट हुनसक्ने सापकोटाले बताए । म्याग्दीमा चितुवाको सङ्ख्या बढेकाले आहाराको खोजीमा मानव बस्ती र सडक छेउछाउमा देखिन थालेका स्थानीयले बताएका छन् ।
ग्रामीण क्षेत्रमा लगाइएका हिउँदे र बर्खे बाली जङ्गली जनावरबाट जोगाउन स्थानीय रातभर जाग्राम बस्न थालेका छन् । जङ्गली जनावर मार्न नपाइने र धपाउनसमेत नसकिने भएपछि कृषकलाई सास्ती भएको कृषक बताउँछन् ।