जोडिनुहोस
  • होमपेज
  • अर्काे विश्व सम्भव छ भन्ने मूल नाराका साथ भोलीदेखि नेपालमा हुन लागेको विश्व भेला कस्तो हो ?

अर्काे विश्व सम्भव छ भन्ने मूल नाराका साथ भोलीदेखि नेपालमा हुन लागेको विश्व भेला कस्तो हो ?

– अर्जुन भट्टराई

विश्वमा नवउदारवाद, पूँजीवाद र विश्वव्यापीकरणले पारेको विनाशकारी प्रभावको विकल्पका बारेमा गम्भीर बहस गर्ने शिलशिलामा सन् २००१ मा ब्राजिलको पोर्ते एलेगे्रमा पहिलोपटक विश्व सामाजिक मञ्च आयोजना गरिएको थियो । अहिलेको विश्व व्यवस्थाले विद्यमान समस्याहरुलाई सम्वोधन गर्न नसक्ने निष्कर्ष सहित अर्को विश्व सम्भव छ भन्ने नारा सहित मञ्चले विभिन्न सामाजिक आन्दोलन, सामुदायिक अभियान, ट्रेड युनियन, किसान संगठन, युवा संगठन, प्राज्ञ, बुद्धिजीवी र अन्य सीमान्तकृत समुदायलाई एकजुट गराई सहकार्य गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । यही अभियानको निरन्तरताका रुपमा भोलीदेखि विश्व सामाजिक मञ्च नेपालमा आयोजना हुँदै छ ।

सिंगो मानवजातीले अहिले बहुआयामिक संकटको सामना गरिरहेको छ । वातावरणीय संकट, खाद्य असुरक्षा, महामारी, प्राकृतिक विपत्तिसँगै विश्वव्यापी रुपमा गरिबी, असमानता, विभेद, हिंसा तथा द्वन्द्व बढ्दै गइरहेको छ । दक्षिणपन्थी अतिवादी शक्तिले विभिन्न बहानामा मानव अधिकार, स्वतन्त्रता, लोकतान्त्रिक प्रक्रिया, मानव र प्रकृतिको हितलाई कमजोर पारी संसारभर सैनिकिकरण, युद्ध, हिंसा र द्वन्द्व बढाई आफ्नो निहित स्वार्थ पूरा गर्न हरसम्भव प्रयासरत देखिन्छन् । परिणामस्वरुप बहुसंख्यक सीमान्तकृत नागरिकहरूको जनजीविका अत्यन्त कष्टकर बन्दै गइरहेको छ भने केही सीमित संख्याका नागरिकहरू विश्वव्यापी देखिने संकटलाई नै व्यवसाय बनाएर अकुत सम्पत्ति थुपार्न लागिरहेका छन् । परिणामतः धनी र गरिबको खाडल झन् झन् फराकिलो बन्दै गईरहेको छ, र विद्यमान विश्व व्यवस्था कायम हुने हो भने धनी र गरिब बीचको यो खाडलको फराकिलोपना अझै बढ्ने देखिन्छ ।

यसले विश्वव्यापी रुपमा ठूलो तनावको सृजना गरेको छ । यस्तो परिस्थिति श्रृजना हुनुमा विश्वले अहिले अवलम्बन गरेका नीति र सिद्धान्तको मुख्य भूमिका रहेको छ । विकल्पहीन सिद्धान्तका रुपमा चर्चा गरिने पूँजिवाद, विश्वव्यापीकरण र नवउदारवादी व्यवस्थाले अहिलेको विश्वलाई समस्याग्रस्त बनाएकोमा दुविधा छैन । यसैले समय नघर्कदै अहिलेको विश्व व्यवस्थालाई परिवर्तन गरी सामाजिक न्याय, समानता, सहअस्तित्व र मानव मर्यादा सहितको नयाँ विश्व व्यवस्था निर्माण गर्न संसारभर विभिन्न किसिमका पहलकदमीहरू भइरहेका छन् । विश्व सामाजिक मञ्च यस्तै पहलकदमीहरूको महत्वपूर्ण अभियान हो ।

विश्व सामाजिक मञ्चले नवउदारवाद, भूमण्डलीकृत पूँजिवाद, जलवायु संकट, पितृृसत्ता, जातजाती, छुवाछुत तथा रंगभेद, नश्लभेद, लैंगिकता तथा यौनिकताका आधारमा हुने हिंसा, विभेद, द्वेषका विरुद्धमा एकजुट भएर गरिने विश्वभरका आन्दोलन र नागरिक समाज संगठनको सामूहिक शक्तिलाई प्रतिनिधित्व गर्दछ । यसले समष्टिगत रुपमा अर्को विश्व सम्भव छ भन्ने नारा अगाडि सारेको छ ।

सन् २०२२ को अगष्टमा सम्पन्न एशिया प्रशान्त सामाजिक मञ्च सहजीकरण समितिको बैंककमा विश्व सामाजिक मञ्च २०२४ नेपालमा आयोजना गर्ने सम्भावनाका बारेमा छलफल भएको थियो र तत् पश्चात विभिन्न परामर्श बैठकहरू सम्पन्न भए । अन्तत १६ मार्च २०२३ मा भएको अन्तराषर््िट्रय परिषद््को बैठकले विश्व सामाजिक मञ्चको १६ औं संस्करण २०२४ को फेब्रुवरी १५ देखि १९ सम्म (३ देखि ७ फाल्गुण २०८०) मा नेपालको काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ । मञ्च सम्बद्ध कार्यक्रमका रुपमा फेब्रुवरी १४ मा संसदीय मञ्च र १७ मा अन्तर महादेशीय युवा सम्मेलन पनि आयोजना गरिनेछ ।

इतिहास:
विश्व सामाजिक मञ्च पहिलोपटक सन् २००१ मा ल्याटिन अमेरिकी देश ब्राजिलको पोर्ते एलेगे्रमा सम्पन्न भएको थियो । यस पछि विभिन्न महादेशहरुमा राष्ट्रिय, क्षेत्रीय र विश्व स्तरका विभिन्न फोरमहरु आयोजना हुँदै आएका छन् । सन् २००२ र २००३ मा पुन ब्राजिलको पोर्ते एलेगे्रमा, सन् २००४ मा भारतको मुम्वइमा, २००५ मा पुन ब्राजिलको पोर्ते एलेगे्रमा, सन् २००६ मा भेनेज्वेलाको काराकास, मालीको बामाको र पाकिस्तानको कराँचीमा, सन् २००७ मा केन्याको नैरोवी, २००९ मा व्राजिलको वेलेम, सन् २०१० मा ब्राजिलको पोर्ते एलेगे्रमा, सन् २०११ मा सेनेगलको डाकारमा, सन् २०१२ मा ब्राजिलको पोर्ते एलेगे्रमा, सन् २०१३ र २०१५ मा ट्युनिसियाको टुनिसमा, सन् २०१६ मा क्यानाडाको मोन्टेरेल, सन् २०१८ मा ब्राजिलको साल्भाडर वाहियामा, सन् २०२१ भर्चुअल र २०२२ मा मेक्सिकोमा विश्व सामाजिक मञ्च सम्पन्न भएका थिए ।

यसमध्ये केही संस्करणहरु विशेष प्रकारका थिए । सन् २००६ मा काराकास, भेनेज्वेला, वामाको, माली र कराँचीमा संयुक्त रुपमा भएका थिए भने दशौं संस्करणलाई विकेन्द्रीत गरी करिव ३५ राष्ट्रिय, क्षेत्रीय र स्थानीय फोरमहरु पनि सञ्चालन भएका थिए । यसैगरी सन् २०२१ को संस्करण विश्वव्यापी कोभिड महामारीका कारण भर्चुअल रुपमा सम्पन्न भएको थियो ।

विश्व सामाजिक मञ्चको औचित्यता:
अहिलेको विश्व व्यवस्थाले अंगिकार गरेका नीति र संरचनाहरुले सृजना गरेका नकारात्मक प्रभावका वारेमा आलोचनात्मक वहस गर्दै वैकल्पिक सोच र विचारहरु निर्माण गर्न विश्व सामाजिक मञ्चको आयोजना गरिन्छ । यस्ता वहसले नयाँ विश्व व्यवस्था र तदअनुरुपका नीति‐संरचनाहरु निर्माण गर्न विश्वव्यापी रुपमा दवाव सृजना गरेका छन् । यस्ले विश्वव्यापी रुपमा सामाजिक न्याय, मानव अधिकार, समानता, प्रकृति संरक्षण, शान्ति स्थापना जस्ता मानव जगतको हित कार्य गर्नका लागि योगदान÷दवाव प्रदान गरेको छ ।

अहिले विश्वव्यापी रुपमा भइरहेका अधिकांश सभा, सम्मेलन र त्यहाँ हुने वहस र छलफल पहिलो विश्वका देशहरु र ती देशका सम्भ्रान्त वर्गको हितमा केन्द्रीत देखिन्छ । यस अर्थमा यी सभा, सम्मेलन र वहसमा पहुँच नभएका, आफ्नो पहिचान र अधिकारका लागि संघर्ष गरिरहेका सीमान्तकृत नागरिकहरुको आवाज गुञ्जने महत्वपूर्ण थलो पनि यो मञ्च हो । यसैले किसान, मजदुर, महिला, दलित, आदीवासी जनजाती, युवा, भिन्न रुपले सक्षम व्यक्ति, लैंगिक तथा यौनिक अल्पसंख्यक, विपद तथा महामारीको चपेटामा परेका नागरिक लगायतका सीमान्तकृत समुदायको आफ्ना आवाज बुलन्द गर्ने अवसरका रुपमा यो मञ्च स्थापित हुन सकेको छ ।

विश्व सामाजिक मञ्चको शुरुवात गर्नेदेखि विभिन्न महादेशमा सहभागी भएका विभिन्न व्यक्तिहरु कतिपय देशको प्रमुख पदमा र कतिपय विश्व संस्थाको नेतृत्मा पनि पुगेका छन् । यो मञ्चको शुरुवात गर्ने अभियन्ता लुला अहिले व्राजिलको राष्ट्रपति निर्वाचित भएका छन् भने एन्टोनियो गुटरेस पोर्चुगलको प्रधानमन्त्री हुँदै अहिले संयुक्त राष्ट्रसंघको महासचिव बनेका छन् । यस अभियानमा संलग्न भएका अभियन्ताहरु ठूलो संख्यामा अन्य विभिन्न निकायमा महत्वपूर्ण भूमिकामा पुगी समानता र समतामुलक विश्व व्यवस्था निर्माणमा क्रियाशील भइरहेका छन् ।

विश्व सामाजिक मञ्च २०२४ आयोजना प्रकृयाको संरचनाः
यो मञ्चलाई व्यवस्थित बनाउन अन्तर्राष्ट्रिय परिषद, क्षेत्रीय मञ्चहरू, जस्तै एशिया प्रशान्त सामाजिक मञ्च सहजीकरण समिति र राष्ट्रिय आयोजक समिति जस्ता समुहहरूले सहजीकरण गरिरहेका छन् । विश्व सामाजिक मञ्च २०२४ नेपाल, आयोजनाका लागि विश्व सामाजिक मञ्च नेपाल परिषद्, विश्व सामाजिक मञ्च नेपाल आयोजक समिति र यस अन्तर्गत विभिन्न उपसमितिहरूको गठन गरिएका छन् । कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न आवश्यक पूर्वतयारीका कामहरू नेपाल आयोजक समिति र यस अन्तर्गतका विभिन्न उपसमितिहरूले गरिरहेका छन् ।

प्रस्तावित विषयगत विधाहरू र कार्यक्रम विवरणः
विश्व सामाजिक मञ्च मानवता, मानव अधिकार र मानवीय स्वतन्त्रताको अभिवृद्धिका लागि विभिन्न विधाहरुमा विभिन्न संस्थाहरुको स्व–आयोजित रुपमा बहस तथा छलफल गर्ने अन्तर्राष्ट्रिय चौतारी हो । यस २०२४ संस्करणमा निम्नानुसारको विधाहरूमा बहस तथा छलफल कार्यक्रमहरु आयोजना हुनेछन्ः

१. आर्थिक असमानता र आर्थिक न्याय
आजको नियन्त्रित आर्थिक प्रणालीले अर्बौं गरिबको रगत र पसिनाको दुरुपयोग गरी केही सीमित धनीलाई सम्पत्ति सोहर्न र अझ धनी बनाउन मद्दत गरेको छ । शक्ति र अग्राधिकारको दुरुपयोगबाट आर्थिक अनियमितता र भ्रष्टाचार वृद्धि भई धनी र गरिबको खाडल झन् बृद्धि भईरहेको छ । गरिब देश र जनताहरु ऋणमा डुबेर उठ्नै नसक्ने गरी थला परिरहेका छन्, पर्ने अवस्थामा छन् । बढ्दो आर्थिक असमानताले स्वास्थ्य, शिक्षा, रोजगारी तथा जीवनयापनको अवसरमा ठूलो विभेद निम्त्याइरहेको छ । सामाजिक विभेद र जलवायु विनाशबीच ठूलो अन्तरसम्बन्ध देखापरिंदैछ र धनी–गरिब बीचको खाडल बढेसँगै वातावरणमा प्रत्यक्ष प्रतिकुल असर परिरहेको छ । धनी–गरिब बीचको उच्च विभेदले एकातिर गरिवी निवारणलाई ठूलो चुनौती दिईरहेको छ भने अर्कोतिर राजनीतिको भ्रष्टीकरण, प्रजातन्त्रको दुर्वलीकरण, आर्थिक समृद्धिमा बाधा, ऊर्जा अपराध र सामाजिक तुष्टिकरणमा समेत बढावा भईरहेको छ । यी आर्थिक असमानता र त्यसका प्रभावहरुको न्युनिकरण गरी मानव भलाई केन्द्रीत अर्थव्यवस्था निर्माणका लागि विश्व सामाजिक मञ्च २०२४ एउटा उपयुक्त प्लेटफर्म हुनेछ । यस्तो अर्थव्यवस्थाले निष्पक्ष र बलियो समाज निर्माण, सम्मानजनक पारिश्रमिक सहित रोजगारी सुरक्षाको ग्यारेन्टी र सेवाको न्यायसंगत वितरणको आधार तय गर्नुपर्छ । यसले महिला र पुरुष, हुने र नहुनेबीच समभावको भावना जागृत गर्दै विद्यमान पुँजीवादी व्यवस्थाको पिंजडाको शक्तिलाई तोड्नेछ ।

२. श्रम, आप्रवासन, दासत्व र मानव बेचबिखन
आप्रवासन र मानव बेचबिखन फरक भइकन अन्तर–सम्बन्धित विषयहरु हुन् । आप्रवासन मुलतः न्यायसंगत हुन्छ तर मानव बेचबिखनमा शक्तिको प्रयोग तथा व्यक्तिको जबरजस्ती दुरुपयोग हुन्छ । तुलनात्मक रुपमा राम्रो रोजगारीको अवसर खोजीका लागि व्यक्तिले आफ्नो थातथलो छोडी नयाँ परिवेशमा गुज्रनु पर्दा कतिपय अवस्थामा उसको श्रमको दुरुपयोग हुन पुग्छ । धेरै मुलुकहरु, विशेषगरी उत्तरी गोलाद्र्धमा, आप्रवासनलाई ती देशहरुको राष्ट्रिय सुरक्षा, राष्ट्रिय पहिचान र भौगोलिक सार्वभौमसत्तामाथि खतराको रुपमा हेरिंदैछ । फलस्वरुप, कोभिड १९ महामारी जस्तो आर्थिक, राजनीतिक र स्वास्थ्य संकटको दौरान आप्रवासीहरु धेरै प्रताडित र कम सुरक्षित भए । आप्रवासीहरुलाई ती मुलुकहरुले आफ्नो श्रमशक्ति वृद्धि गरी उत्पादन बढाउन जन्मभूमी र कर्मभूमिबीच बसाईसराईको सुविधा दिइरहँदा आप्रवासीको अधिकार संरक्षण पनि सँगै गर्नुपर्दछ । महामारीबाट थलिएर बन्द गरिएको सिमाना खुलेको र आर्थिक अवस्था पनि सुदृण हुने अवस्थामा पुगेको बेला अब उत्तरी गोलाद्र्धका मुलुकहरुले आप्रवासी श्रमिकहरुको उद्धारमा योगदान गर्नुपर्छ । यो विधामा यस्तै अनेकौं कोणमा छलफल र बहसहरु हुनेछन् ।

३. जात, काम र वंशमा आधारित भेदभाव, जाति, जातीयता, आदिबासी, छुवाछुत, र सबै प्रकारका भेदभाव
सदियौंदेखि जात, समुदाय र जातियताका आधारमा मानिसबीच भेदभाव कायम छ र परिणामतः ठूलो संख्यामा मानिसहरु तिरस्कार र बहिस्कारमा परेका छन् । वर्ण र जात व्यवस्थामा आधारित छुवाछुत, काम र वंशमा आधारित विभेद, रंगमा आधारित विभेद र अन्य विभिन्न किसिमका विभेदले संसारमा ठूलो जनसंख्या प्रताडित छ । शताब्दिऔंदेखि मानव समाजले यस्ता जातीवादी, अछुत र सामाजिक विभेदका विरुद्धमा विभिन्न संघर्ष र आन्दोलन गरिरहेका छन् भने आफ्नो शक्ति र स्रोत समेत परिचालन गरिरहेका छन् । जातीवादी, छुवाछुत, सबै प्रकारका विभेद, र त्यसको आधारमा गरिने हिंसाको अन्त्य नभएसम्म विश्व सामाजिक मञ्चले वकालत गर्दै आइरहेको ‘अर्को विश्व सम्भव छ’ भन्ने उद्देश्य हासिल गर्न सकिंदैन । जातीय विभेद, छुवाछुत र सबै प्रकारका विभेदरहित विश्व निर्माणमा विश्वास गर्नेहरुका लागि यो कार्यक्रमले महत्वपूर्ण छलफल, बहस गर्ने मञ्च प्रदान गर्नेछ । साथै, पीडित सम्प्रदायका लागि संघर्षको प्रयास र योजना बनाउन छलफल–बहसले नैतिक र नीतिगत सहयोग प्रदान गर्नेछ ।

४. लिङ्ग, लैङ्गिकता, लैंगिक हिंसा र पहिचान
पितृसत्तात्मक परम्परागत सामाजिक व्यवस्थाले पुरुष विशेषाधिकार र प्राथामिकीकरण गरी लिङ्गीय विभेद र श्रेणीबद्धताको वीजारोपण ग¥यो र प्राकृतिक रुपमै दुर्बल मानिसलाई न्युन कोटीमा दर्ज गर्ने परम्परा शुरु ग¥यो । यसले महिलालाई विभेद (कतिपय अवस्थामा बहिस्कार) र लिङ्गीय पहिचान बाहिरका मानिसलाई घातक सामाजिक मापदण्ड निर्माण गरी त्यसलाई नीतिगत विकासबाट वैधानिकरण दिईयो । पितृत्सत्तात्मक व्यवस्थाले प्राकृतिक रुपमै तुलनात्मक कमजोर मानिसलाई झन् उत्पीडन गर्ने भएकाले यस विरुद्धको आन्दोलन वास्तवमा गरिबी निवारण र अन्याय विरुद्धको संघर्ष पनि हो । विषम लैंगिकता र विविध यौनिक अभिमुखिकरणयुक्त व्यक्ति र समाजको पक्षमा लामो संघर्षका कारण केही प्रगति अवश्य हासिल भएका छन्, तरपनि लिङ्गीय पहिचान तथा लैंगिक अभिव्यक्तिले अझै स्वतन्त्रता पाएको छैन, कानुनी सुरक्षा र स्वीकारोक्तीको क्षेत्रमा यसले अझै समस्या व्यहोरिरहेका छन् । समाज, राज्य र बजारले सृजना गर्ने विभेद, दुरुपयोग र हिंसाका कारण उनीहरुको शैक्षिक र सामाजिक उन्नतिमा प्रतिकुल प्रभाव परिरहेको छ र यसले सामाजिक सद्भाव र समानताको क्षेत्रमा ठूलो खाडल बनाइरहेको छ । यसर्थ, मानव समानता र समताका लागि विश्वले अपनाउनु पर्ने नीति र उत्पन्न गर्नुपर्ने दबाब लगायतका विषयमा यो विधामा छलफल केन्द्रीत हुनेछन् ।

५. भूमि, कृषि, खाद्य सम्प्रभुता, पारिस्थितिकीय कृषि, उर्जा र प्राकृतिक स्रोत
नवउदारीकरण नीति र अभ्यासले जमिन र प्राकृतिक श्रोत सीमित व्यक्तिको कब्जा, सञ्चय, दुरुपयोग, रुपान्तरण र विलासितामा प्रयोग भएको छ । यसले बाँकी अर्बौं जनताको जीवन र जीवनशैलीलाई मात्रै जोखिममा पारेको छैन, वातावरण विनास र जलवायु परिवर्तन समेत निम्त्याएको छ । जमिन सीमित व्यक्तिको कब्जाका कारण कृषि र शिकारमा आधारित परम्परागत जीवनशैलीको विलय हुँदैछ । यसले कृषियोग्य जमिन, प्राकृतिक श्रोतमाथि पहुँच, जैविकप्रणाली र खाद्य सुरक्षाको विकल्पको ह्रास तथा वनविनाशमा बृद्धि गरिरहेको छ । जमिन र खाद्य राजनीति अभिन्न रुपमा गाँसिएका छन् । खाद्य उत्पादन चक्रलाई नियन्त्रण गर्न बिउ लगायत जमिन र कृषि सामग्रीलाई नियन्त्रण गरी केन्द्रीकृत र निजीकरण गर्न उद्यत राजनीतिक शक्तिलाई ध्वस्त पार्न खाद्य सम्प्रभुता आन्दोलन एक अभियानको रुपमा क्रियाशील छ । विश्व सामाजिक मञ्च २०२४ को यो फोरममा खाद्य सम्प्रभूतासम्बन्धी महत्वपूर्ण बहस र छलफलपश्चात आवश्यक नैतिक, तथ्यगत र तार्किक विचार निर्माण भई यस दिशामा काम गर्न सहयोग पु¥याउनेछ ।

६. शान्ति, द्वन्द्व, युद्ध, अधिग्रहण, विस्थापन र सुरक्षा
औपनिवेशिक साम्राज्यवादीहरुले युद्धका माध्यमबाट असन्तुलित नीति र मानवीय संवेदनाको हत्या गर्ने काम गर्दछन् । यी युद्धहरु हतियारको माध्यमबाट मात्र नभई औपनिवेशिक साम्राज्यवादीहरुले विश्व बैंक, आईएमएफ जस्ता दुई प्रमुख अस्त्रको माध्यमबाट आर्थिक र वित्तीय नियन्त्रण गरी अर्बौं मानिसहरुलाई गरिबीमा धकेलिरहेका छन् । युद्ध र उपनिवेशवादले हजारौं नागरिकको हत्या र ध्वंश मात्र गरेका छैनन्, जनतालाई विस्थापित समेत गरेका छन्, गरिरहेका छन् । प्यालेस्टाइन आक्रमण यसको पछिल्लो उदाहरण मात्र हो, यसअघि इराक, सिरिया, म्यानमार, सुडान, यमन, कोसोभो लगायतका मुलुकहरुले यस्तै नियती भोगेका थिए । आजको विश्व व्यवस्थाले उपनिवेशवादी र साम्राज्यवादीको अत्याचारलाई अनुकुल हुने वातावण सृजना गरी दक्षिणी गोलाद्र्धका गरिब मुलुकहरुलाई अत्याचार गराई रहेको छ, गरिबीको चपेटालाई अझ बृद्धि गरिरहेको छ । यस विरुद्धको आवाज बुलन्द गर्न यो फोरमले योगदान गर्नेछ ।

७. शिक्षा, कला र संस्कृति
संस्कृति विज्ञानका निस्कर्षहरु हुन् । संस्कृति वास्तवमा मानव सभ्यताको असल अभ्यासहरुको निरन्तरता हुन् । ती संस्कृतिलाई अभ्यास गर्ने शैली कला हो । यो कला र संस्कृतिको अध्ययनबाट निस्कने निस्कर्ष र मानव हितमा त्यसको प्रयोगको माध्यम शिक्षा हो । तसर्थ, शिक्षा, कला र संस्कृति अन्तरसम्बन्धित हुन्, र एक अर्काका परिपुरक हुन् । शिक्षालाई मानिसको तेस्रो आँखाका रुपमा समेत व्याख्या गरी यसको महिमा र गरिमाको महत्व दर्शाउने गरिन्छ । शिक्षाले चेतनाको क्षितिजलाई विस्तार गर्दछ र मानवीय मूल्य, मान्यतालाई अभिवृद्धि गर्छ । शिक्षालाई समग्र मानव विकासको अस्त्रको रुपमा उपयोग गर्नु पर्दछ तर नवउदारवादी नीतिले शिक्षालाई व्यापारको औजारका रुपमा विकास गर्दैछ । धनी र गरिब बीचको विभेद मेट्नलाई शिक्षाको उपयोग गरिनुपर्नेमा धनी र गरिबको खाडल बृद्धि गर्ने अस्त्रका रुपमा शिक्षालाई विकास गरिंदैछ । विश्व सामाजिक मञ्च यस प्रवृत्तिको विरोध गर्दछ र शिक्षालाई सर्वसुलभ र समानताको प्रतिक बनाउनका लागि सशक्त जागरण र अभियानको आह्वान गर्दछ । विश्व सामाजिक मञ्चको यो संस्करणमा यसका लागि तय गर्नुपर्ने नीति, नियम, नियमन र संस्थाहरुको बारेमा यो विधामा महत्वपूर्ण बहस र छलफल हुनेछ ।

८. संचार, सामाजिक सञ्जाल र मिडिया (डिजिटल समानता)
खुल्ला सुचना, ज्ञान र सफ्टवेयरको विकास, प्रजातान्त्रिक बहस, सञ्चारको नियमन तथा अधिकार र स्वतन्त्र ईन्टरनेट पक्षधर आन्दोलनका अगुवाहरुको प्राविधिक, सामाजिक र राजनीतिक क्रियाकलाप र पहलकदमीहरुलाई विश्व सामाजिक मञ्च २०२४ को बृहत छाताले हार्दिक स्वागत गर्दछ । आजको युगमा विश्वका अधिकांश जनतासँग स्मार्टफोन छन् र यसको माध्यमबाट उनीहरु दैनिक घण्टौंसम्म व्यवसायिक डिजिटल सामाजिक सञ्जाल र संचारको डिजिटल लयसँग जोडिएका छन् । ईन्टरनेट पहुँचसँग आर्थिक पक्ष र नाफाको व्यापार जोडिएको छ । यसले संसारका सुचनाको पहुँच र त्यसबाट हासिल गर्ने सम्भावनाको क्षेत्रमा प्रतिस्पर्धा सृजना गरेको छ । यसर्थ, इन्टरनेट व्यक्तिको सामुहिक स्वतन्त्रताको वाहक हो वा नवउदारवादी शक्तिको लागि व्यक्तिको आधारभूत तथा नकारात्मक भावना, आकर्षण, विचार र सपनामाथि स्थायी सर्वेक्षण र निरिक्षण गर्ने सापेक्ष हतियार हुन् भन्ने विचारबीच बहस ज्वलन्त छ । यो विधामा यस्तै बहसहरु केन्द्रीत हुनेछन् ।

९. लोकतन्त्र, मानवअधिकार, अधिनायकवाद, कानून र न्याय
लोकतान्त्रिक समाजमा जनताको अधिकार सुरक्षित गर्न र द्वन्द्ध व्यवस्थापनको प्रारुप प्रदान गर्न कानुन र न्यायको शासन अत्यावश्कय छ । दिगो विकास र स्थायी शान्तिका लगि प्रजातान्त्रिक शासन पद्धति र मानव अधिकार आधारभूत तत्वहरु हुन् । विकासशील राष्ट्रहरुको प्रभावहीन सार्वजनिक संरचना, व्याप्त भ्रष्टाचार र कमजोर कानुनी शासनले गृहयुद्ध र चरम आपराधिक हिंसालाई बढोत्तरी गर्दछ । तथापी, अधिनायकवादी व्यवस्थाले शक्तिको केन्द्रीकरण तथा प्राथामिकरण त गर्छ, तर मानव अधिकार र न्याय प्रणालीको बेवास्ता गरी असहमतीको दमन र स्वतन्त्रताको हनन गर्ने काम गर्दछ । लामो समयदेखि स्थापित प्रजातन्त्रमा समेत राष्ट्रिय राजनीतिलाई विसंगत बनाई घृणाको बढोत्तरी, हिंसा र बेलगाम शक्ति दुरुपयोग गरी उनीहरुको व्यवस्थाको दुरुपयोग गरेका उदाहरणहरु छन् । विश्वव्यापी व्यवस्था संघर्षको उच्च विन्दुको नजिक छ, तसर्थ यदि प्रजातन्त्रका हिमायतीहरुले एकताबद्ध काम गरेर सबैको समान स्वतन्त्रताको ग्यारेन्टी गर्दैन भने विश्व व्यवस्था अधिनायकवादको चंगुलमा पर्ने अवश्यम्भावी छ । यो विधामा हुने छलफलले यस्ता सम्भावना औंल्याउँदै जनपक्षीय प्रजातान्त्रिक संस्कार र अभ्यास निर्माणको दिशामा योगदान गर्नेछ ।

१०. स्वास्थ्य, सामाजिक संरक्षण र समानता
विज्ञान तथा प्रविधिको विकाससँगै विश्व अर्थतन्त्रमा उत्पादनको बृद्धि र तीव्रता आयो र फलःस्वरुप अधिक सम्पति र नाफाको उत्पादन भयो । तर दुर्भाग्यवश, यससँगै हुने र नहुने बीचको भिन्नता गुणात्मक हिसाबले बढ्न पुग्यो । श्रमिकहरुको अधिक मेहनत, समय र त्यागका कारण सृजित उच्च उत्पादनका बाबजुद ती श्रमिकहरु नै स्वास्थ्य तथा अन्य नागरिक सेवा, गुणस्तरीय शिक्षा र उचित बासबाट बञ्चित छन् । आज यस्तो विश्वको निर्माण हुन पुगेको छ जहाँ श्रम र आम्दानीको दुरी बढेको छ, श्रमिकको आधारभूत आवश्यकताको ग्यारेन्टी ह्रास भएको छ र श्रमिक परिवार दुःखबाट व्याप्त छन् । यस्तो अवस्थामा सम्पूर्ण श्रमिकलाई उचित आवास तथा नागरिक सेवाको व्यवस्था, स्वास्थ्य, शिक्षा, बेरोजगारी भत्ता र बृद्ध भत्ताको व्यवस्था सहित बृहत सामाजिक संरक्षणको दायरामा ल्याउनु पर्छ । सामाजिक संरक्षणको बृहत्तर हितको कुरा गरिरहँदा भिन्न रुपले सक्षम नागरिकलाई सुरक्षित र उत्पादनशील जीवनको लागि पर्याप्त प्रयत्नहरु गरिनुपर्छ । श्रम गर्नेलाई आधारभूत सेवा ग्यारेन्टीबाट मात्र समाजको विकासको निरन्तरता सम्भव छ भन्ने दृष्टिकोणलाई थप प्रकाश गर्ने नविन तथ्य, तथ्यांक र विचारहरु सहित यो विधामा बहस हुनेछन् ।

११. जलवायु, पर्यावरण, न्यायोचित रुपान्तरण, बासस्थान र दिगो विकास
जैविक इन्धनको अत्यधिक प्रयोग, प्राकृतिक स्रोतको दोहन, गैर–दिगो विकास संरचनाका कारण मानव अस्तित्वलाई समेत चुनौती दिने गरी विकास भइरहेको जलवायु प्रतिकुलनले जैविकशास्त्र, वासस्थान र सभ्यतालाई ध्वस्त पार्दैछ भने यो विनाशमा खासै हिस्सा नओगट्ने दक्षिणी गरिब मुलुकहरु जलवायु संकटका कारण उच्च संकटबाट गुज्रिरहेका छन् । मानव र पृथ्विको हितका लागि दिगो विकास आधारित ऊर्जा उपयोग र रुपान्तरण आवश्यक छ । जलवायु परिवर्तन आजको ज्वलन्त विषय हो जसले एकताबद्ध योजना र सम्बोधनको माग गर्दछ । तसर्थ विश्व सामाजिक मञ्च २०२४ ले यस्ता ज्वलन्त समस्याहरुको समाधानको पहलकदमी लिन र भावी सन्ततीका लागि सद्भावयुक्त र स्वावलम्बी समाज निर्माण गर्न विभिन्न विधामा महत्वपूर्ण छलफलको आयोजना गर्नेछ र यस दिशामा सामुहिक प्रयास र एकताबद्धता जाहेर गर्न अभियन्ताहरुलाई उपयुक्त अवसर प्रदान गर्नेछ ।

१२. महिला, बालबालिका, युवा, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरू
प्राकृतिक रुपमा मानवचक्र विविध स्वरुप र अवस्थामा प्रकट हुन्छन् । महिला, बालबालिका, युवा, ज्येष्ठ नागरिक मानवचक्रकै प्रकटीय अवस्था भएकाले यसमा भेदभाव हुनु प्राकृतिक न्यायका हिसाबले समेत दुर्भाग्यपूर्ण छ । यी सम्पूर्ण अवस्थाहरुलाई समानभाव, आदरभाव र जीवन जिउने फरक अनुभवको रुपमा स्वीकार गर्ने संस्कार विकास गरेर नै विभेदको अन्त्य गर्न सकिन्छ । मानव जागरण र अभियानकै नतिजा स्वरुप लिङ्गीय विभेदका विपक्षमा विभिन्न कानुन तथा सन्धी भएपनि यसको अवशेष र अभ्यास जारी नै रहनु दुःखद छ । त्यस्तै, बालश्रम लगायत बालबालिका मानव अधिकार हनन विरुद्धको क्षेत्रमा अझै धेरै प्रयास आवश्यक छ । विश्व सामाजिक मञ्च २०२४ ले मानवीय मूल्य र मान्यताको विकास गर्न महत्वपूर्ण बहस र छलफल गर्नेछ । र, यो दिशामा नयाँ विचार र प्रेरणा प्रदर्शित हुने अपेक्षा गरिएको छ ।

१३. सामाजिक आन्दोलन, नागरिकको भूमिका र विश्व सामाजिक मञ्चको भविष्य
विभिन्न क्षेत्रमा क्रियाशील नागरिक समाजले सामाजिक दुरावस्थाको परिवर्तनका लागि समान धारणाका साथ सृजनात्मक ढंगले नागरिकहरुको सामुहिक आवाज बुलन्द गर्ने कार्यलाई नागरिक आन्दोलन भनिन्छ । नागरिक आन्दोलनको सान्दर्भिक विन्दु र उद्देश्य निर्धारणका लागि सामाजिक मञ्चले स्थायी अन्तरसंवाद प्रक्रियाको काम गर्दछ । यसले खुल्ला वातावरणमा संवाद र राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरको सम्पर्क–सम्बन्ध सेतुको काम गर्दछ । आन्दोलनका विविधतायुक्त र समावेशी समूहसँग यसले अद्भुत घुलन गराउँदछ ।

अन्त्यमा, विश्व जलवायु परिवर्तन, आर्थिक, सामाजिक, राजनीतिक तरलता र अन्य विविध संकटबाट गुज्रिरहेको वर्तमान अवस्थामा ‘विश्व सामाजिक मञ्च २०२४’ उच्च विविधतायुक्त जनताको आन्दोलनको प्रबद्र्धन र अभ्यास गर्न अन्तरपुस्ता संचार र घुलनको एक महत्वपूर्ण अवसर हो । विभिन्न सत्र र विधाहरुमा हुने विकेन्द्रीकृत बहस तथा छलफलले आजको विश्व व्यवस्थाका प्रतिकुल आचरण र आयतनका विरुद्धमा आवाज बुलन्द गर्नुका साथै भविष्यमा आयोजना हुने विश्व सामाजिक मञ्चहरुको उपाध्यायता र प्रभावकारिताको समेत मार्ग प्रशस्त गर्नेछ ।

मञ्चमा दर्ता भएका कार्यक्रमहरुः
विश्व सामाजिक मञ्च २०२४ को उद्घाटन समारोह फेब्रुवरी १५ मा काठमाडौंको भृकुटि मण्डपमा हुनेछ । विषयगत छलफल तथा सम्मेलनहरू र समानान्तर सत्रहरू १६-१८ फेब्रुवरी २०२४ मा भृकुटिमण्डप क्षेत्रमा आयोजित हुनेछन् । हरेक दिन कार्यक्रमहरू विषयगत प्लेनरीबाट सुरु हुनेछन्, त्यसपछि समानान्तर सत्रहरू, सभा सम्मेलनहरू हुनेछन र प्रत्येक दिनको क्रियाकलाप सांस्कृतिक कार्यक्रमहरूका साथ समाप्त हुनेछन् । करिव ३० हजारसम्म दर्शक क्षमता भएको भृकुटीमण्डप प्रदर्शनी केन्द्रमा प्रमुख सार्वजनिक कार्यक्रम र प्रदर्शनी आयोजना गरिनेछ । समानान्तर सत्रहरू प्रमुख कार्यक्रम स्थलको नजिक र पैदल दूरी भित्र रहेका नेपाल पर्यटन बोर्डको सभाहल, रत्नराज्य क्याम्पस, नेपाल ल क्याम्पस, वाल्मीकि क्याम्पस र पद्म कन्या क्याम्पस लगायतका परिसरहरूमा आयोजना गरिनेछ ।

जनवरी २५ सम्ममा विश्वका करिव ९१ देशका करिव ११०२ संस्थाहरु दर्ता भएका छन् । विभिन्न सामाजिक आन्दोलनसँग जोडिएका यी संस्थाहरुले करिव ३७५ भन्दा वढी कार्यक्रमहरु दर्ता गरेका छन् । विश्व सामाजिक मञ्चले विभिन्न महादेशबाट विविधतापूर्ण सामाजिक आन्दोलन र तिनका सवालहरुलाई एकै ठाउँमा छलफल, वहस र पैरवी गर्ने गतिशील मञ्चका रुपमा काम गर्नेछ । यी आन्दोलनहरुले सामाजिक न्याय, समानता, मानव अधिकार, अविभेद जस्ता विषयहरुमा विश्वव्यापी संवाद गर्न योगदान गर्नेछन् । दर्ता भएका मुख्य कार्यक्रमहरु निम्न वमोजिम रहेका छन् ।

मजदुर आन्दोलन: संयुक्त ट्रेड युनियन समन्वय केन्द्र, एक्सन एड इन्टरनेस्नल, विश्वास नेपाल, स्वतन्त्रता अभियान, जस्ता संस्थाहरुले उचित ज्याला, कामदारको अधिकार, जस्ता विषयहरु उठाउनेछन् । एक्सन एड नेपालले जिफन्टसँगको सहकार्यमा अनौपचारिक अर्थतन्त्र, मजदुर अधिकार, अनौपचारिक क्षेत्रका मजदुरको सामाजिक सुरक्षा जस्ता विषयमा छलफल गर्नेछ । यसैगरी विस्वास नेपालले जोखिमपूर्ण काममा रहेका बालबालिकाहरु र कामदारहरुको मर्यादित र सम्मानजनक उपचार र पुनस्थापनाका विषयमा काम गर्ने छ । यी संस्थाहरुले कामदारहरुको राम्रो मापदण्ड सहित सुरक्षाका विषयमा आवाज उठाउनेछन् ।

विश्व आर्थिक मञ्च: विश्वमा भइरहेको आर्थिक असमनता र वैकल्पिक उपायहरुको खोजी गर्नका लागि फागुन ६ गते नेपाल विकास अभियान लगायतका १० संस्थाहरुको संयुक्त आयोजनामा वर्ल्ड पिपुल्स इकोनोमिक फोरम हुँदै छ । विश्व जगतले यसलाई महत्पूर्ण रुपमा हेरिएको छ ।

यसैगरी किसान र कृषि आन्दोलनसँग जोडिएका सवालहरु अखिल नेपाल किसान महासंघ लगायतका संस्थाहरुले उठाउनेछन् । किसान आन्दोलनसँग सम्वन्धित संस्थाहरुले भूमि अधिकार, दिगो कृषि, स्वच्छ व्यापार उठाउँदै कृषि क्षेत्रमा देखिएका शोषण, असमानता जस्ता चुनौतिहरुमा वहस गर्नेछन् । यसैगरी किडार्कले ग्लोवल क्लाइमेट जस्टिस फोरम आयोजना गर्दैछ । यस फोरममा वातावरण संरक्षण, जलवायु परिवर्तनको असरबाट प्रभावित नागरिकहरुका सवाल, जलवायु न्याय जस्ता विषयमा छलफल हुनेछ ।

यसैगरी जातीभेद विरुद्ध विश्व मञ्च (ग्लोवल फोरम) ले दलित मुक्ति र न्यायिक समाज विषयमा विश्व संवाद आयोजना गर्दैछ । यसैगरी आदिवासी जनजाती समुदायका आवाज र सवालहरुलाई विश्वव्यापी रुपमा संगठित गरी उनीहरुका अधिकारका लागि काम गर्न विश्व आदीवासी जनजाती मञ्चको आयोजना गर्दैछ । यस्तै व्यापार र मानवअधिकार सहित डिसेन्ट वर्कलाई प्रवद्र्धन गर्ने गरी जिम्मेवार व्यापार सम्वन्धी विश्व सभा हुँदैछ । यसैगरी असमानता र विभेद सम्वन्धी युवा हुने सभाले आर्थिक वृद्धिले असमानतामा पार्ने प्रभाका वारेमा वहस गर्नेछ ।

महिलावादी आन्दोलनले लैंगिक समातना, महिला अधिकार, प्रजनन अधिकार, लैंगिक हिंसा, शिक्षा र रोजगारीमा समान अधिकार जस्ता विषयमा वहस छलफल गर्नेछन् । यसैगरी सीमान्तकृत सामाजिक समूहले लैंगिक तथा यौनिक अल्पसंख्यक, आदिवासी जनजाती, अपांगता भएका समुदाय जस्ता विषयमा कार्यक्रमहरु गर्नेछन् । यस्तै डेमोक्रेसी मुभमेन्टले राजनीतिक सुधार, पारदर्शी सरकार, डेमोक्रेटिक संस्थाहरुको संरक्षण, जवाफदेहिता जस्ता विषयमा वहस गर्नेछ । विश्वव्यापीकरण विरुद्धको आन्दोलनले विश्वव्यापीकरणले व्यापार, आर्थिक न्याय, सांस्कृतिक विविधताको क्षेत्रमा पारेको प्रभावका वारेमा चर्चा गर्नेछ ।

शरणार्थी तथा आप्रवासन आन्दोलनले शरणार्थी र आप्रवासीहरुको अधिकार, विभेद र उनीहरुको आधारभुत मानवअधिकारका वारेमा छलफल गर्नेछ । यस्तै दलित गैसस महासंघ (डिएनएफ) लगायतका संस्थाहरुले वल्र्ड डिग्निटी फोरम आयोजना गर्दैछन् । यस फोरममा विश्वमा जात, वंश र जन्मका आधारमा हुने विभेद, वर्ण व्यवस्था र जात व्यवस्थाको असर, रंगका आधारमा हुने विभेद, वञ्चितिकरण, जलवायु परिवर्तन, विपद र असमानताले दलित तथा सीमान्तकृत समुदायमा पारेको प्रभाववारे वहस हुनेछ ।

यसैगरी नेपाल दलित मानव अधिकार संगठनले विभेदमुक्त विश्वका लागि विश्वव्यापी हस्ताक्षर कार्यक्रम गर्दैछ । विश्वबाट सवै किसिमका विभेदको अभिलम्ब अन्त्य गर्न, चरम विभेदको शिकार वनेका नागरिकको न्यायमा पहुँच पुर्याउने, उचित क्षतिपूर्ति दिने र उनीहरुको मानवअधिकारको सुनिश्चित गर्ने काम प्राथामिकताका साथ गर्न, अहिलेको विभेदकारी विश्व व्यवस्थालाई परिवर्तन गरी समतामुलक र सामाजिक न्यायसहितको नयाँ विश्व निर्माण गर्न प्रतिवद्दता जनाउने विषयमा स्वदेश तथा विदेशबाट कार्यक्रममा सहभागी हुने नागरिक, विभिन्न अतिथिहरुको हस्ताक्षर संकलन गरिनेछ । यसलाई विश्व सामाजिक मञ्च, संयुक्त राष्ट्रसंघ र नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ ।

यसैगरी नेपाल पत्रकार महासंले मिडिया कन्क्लेभ, हिमाल साउथ मिडियाले वर्ल्ड मिडिया इन क्राइसिस विषयमा वहस गर्दैछ । नेपाल बुद्धिजीवी परिषद् स्वदेश र विदेशका वुद्धिजीवीहरुको उपस्थितिमा समाजवादको अध्ययन गरिरहेका राजनीतिज्ञ र बुद्धिजीवीहरु वक्ताहरु समावेश गरेर समाजवादको भविष्य विषयमा डिस्कोर्ष आयोजना गर्दैछ ।

मञ्चमा यस वाहेक तपसिल वमोजिमका विभिन्न फोरमहरु, एसेम्वली र विभिन्न समानान्तर सत्रहरु सञ्चालन हुनेछन् । लिंग र जातीमा आधारित अन्तरसम्बद्ध भेदभावहरुमा विद्यमान चुनौतिहरुको सम्बोधन, समाजवादको भविष्य, सामाजिक सुरक्षा सम्बन्धी विश्वव्यापी सभा,जीवन निर्वाहका लागि न्यूनतम ज्यालाका लागिश्रम क्षेत्रमा विद्यमान असमानता विरुद्धको अभियान, महिलाको मानव अधिकार र आर्थिक न्यायका लागि नागरिक संलग्नता, महिलावादी दृष्टिकोणमा वातावरण र जलवायू न्याय, बालबालिकाका लागि न्यायिक विश्वः वालअधिकार विश्व सभा, विश्वव्यापी जलवायू न्याय मञ्चः मानव र पृथ्वी दुवैका लागि संकटमा हिमालय, प्रणालीगत पूर्वाग्रहको प्रतिरोधका लागि विश्वव्यापी महिला मञ्च, संसदीय मञ्च, भोक र खाद्यप्रणाली माथी विश्वव्यापी अर्थराजनीति, आर्थिक र लैगिक असमानतामा आधारित उच्चस्तरिय प्यानल छलफल, श्रमिक मञ्च, जन केन्द्रीत अर्थतन्त्र, खाद्य प्रणाली सुधार गर्न युवाशक्ति, इन्द्रेणी (आत्म सम्मान, स्वभिमान र विविधतापूर्ण) समाज (पृथ्वी),विश्वव्यापी सामाजिक सुरक्षा, लोकतन्त्र र नागरिक भूमिका, मानअधिकार रक्षकहरुको विश्वव्यापी सभा, विश्व बसाईँ सराईँ मञ्च, जलवायु न्यायका लागि विश्व युवा सभा, जेनोफोविया, दासता र आप्रवासीहरुमाथी नयाँ प्रकारको वेचविखन, भूमि अधिकार सभा, शान्ति, युद्ध र निशस्त्रीकरण जस्ता विषयमा कार्यक्रमहरु हुनेछन् ।

यसैगरी मञ्चसँगको आवद्धतामा अन्तरमहादेशीय युवा मञ्च र संसदीय मञ्च आयोजना हुँदैछ ।

माथि उल्लेखित कार्यक्रम वाहेक हरेक दिन विश्वका विभिन्न देशका कला, साहित्य, झाँकीहरु सम्मिलित सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत हुनेछन् । यसका साथै विश्व सामाजिक मञ्चको अन्तराष्ट्रिय काउन्सिलको सहजीकरणमा हरेक साँझ शान्ति र न्याय, अर्थतन्त्र: ऐक्यवद्दता, सामाजिक र पूँजीवाद, सामाजिक आन्दोलन, अभिव्यक्ति स्वतन्त्रता, फासिजम र रेसिजम, महिला आन्दोलन र संघर्ष, द प्यालेस्टाइन प्रश्न जस्ता विषयमा क्याफे सम्वाद हुँदैछन् । कार्यक्रम सम्वन्धी थप विवरण https://www.wsf2024nepal.org/activities मा हेर्न सकिनेछ ।

उद्घाटन समारोहका अतिथि वक्ताहरुः
मञ्चमा विभिन्न पृष्ठभूमिका व्यक्तिहरु वक्ताका रुपमा आमन्तरण गरिएको छ । मजदुर, किसान, महिला, दलित, युवा, अपांगता, लैंगिक तथा यौनिक अल्पसंख्यक, तथा सीमान्तकृत समुदायका व्यक्तिहरुले सम्वोधन गर्नेछन् । हालसम्म अन्तराष्ट्रिय मजदुर कन्फेडेरसनका अध्यक्ष, भारतका मानवअधिकारकर्मी मेधा पाटकर, पाकिस्तानको सर्वोच्च अदालतका वकिल तथा अधिवक्ता हिना जिलानी लगायतका अथिति वक्ताहरुहरुको टुंगो लागेको छ भने विभिन्न महादेश र अन्य आन्दोलनको प्रतिनिधित्व गर्ने वक्ताहरुको टुंगो लाग्न वाँकी छ ।

सहभागीहरूले वेवसाईटमा प्रस्तावित कार्यक्रमहरूमा आफ्नो रुचि तथा प्रतिकृया व्यक्त गर्न सक्नुहुनेछ । यसले विश्व सामाजिक मञ्च २०२४ को कार्यक्रम तयारीको लागि प्रारम्भिक छलफल÷सञ्चारलाई बढावा दिनेछ । विश्व सामाजिक मञ्च २०२४ मा सकृय सहभागी हुन आम जनसमुदायहरूलाई नेपाल आयोजक समिति हार्दिक आव्हान गर्दछ । यो विश्व मञ्चलाई सफल बनाउन यी सूचनाहरू आफ्नो सञ्जाल र सम्पर्कहरूमा शेयर गरिदिनुहुन पनि हार्दिक अनुरोध गर्दछौं ।

विश्व सामाजिक मञ्च
२००१ः शुरुवात
१५ः हालसम्म सम्पन्न संस्करण
९१ः सहभागी हुने देशहरु
११०२ः दर्ता भएका संस्थाहरु
३७५ः दर्ता भएका कार्यक्रमहरु
२०,०००ः सहभागी हुने संख्या
५,०००ः विदेशी सहभागी
१५,०००ः नेपाली सहभागी

अर्जुन भट्टराई विश्व सामाजिक मञ्चको राष्ट्रिय आयोजक समिति तथा संयोजक अभियान र परिचालन समितिका सदस्य हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका