जोडिनुहोस
  • होमपेज
  • जाडो सुरु हुँदा पनि घटेन डेङ्गु सङ्क्रमण

स्वास्थ्य/जीवनशैली

जाडो सुरु हुँदा पनि घटेन डेङ्गु सङ्क्रमण

  • Sagarmatha TV
  • मङ्लबार, मंसिर १८, २०८१
जाडो सुरु हुँदा पनि घटेन डेङ्गु सङ्क्रमण

काठमाडौं। जाडोयाम सुरु भइसक्दा पनि डेङ्गु सङ्क्रमण घटेको छैन। यस वर्ष सोमबारसम्म देशभर डेङ्गु सङ्क्रमितको संख्या ३४ हजार नाघेको छ। स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७६ जिल्लामा फैलिएको डेङ्गु मंसिर १४ सम्म ३४ हजार ९० जना सङ्क्रमित पुष्टि भएको छ।

यस वर्ष १३ जनाको डेङ्गु सङ्क्रमणबाट मृत्यु भइसकेको छ। गत वर्ष २०८० को पुस मसान्तसम्म देशभर झन्डै ५२ हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो भने २० जनाको ज्यान गएको थियो।

ईडीसीडीको तथ्यांकअनुसार डेङ्गु सङ्क्रमित ५ मुख्य जिल्लामध्ये सबैभन्दा बढी कास्कीमा ७ हजार ६ सय ४७ जना, काठमाडौंमा ५ हजार ८ सय ६८ जना, तनहुँमा २ हजार ५ सय ४५ जना, पर्वतमा १ हजार ८ सय ३८ जना र बागलुङमा १ हजार ३ सय ६० जनालाई सङ्क्रमण भएको छ।

संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले पुस मसान्तसम्म डेङ्गु फैलिनुमा अचम्म मान्नु नपर्ने बताए। ‘दुई वर्षअघि बाह्रै महिना डेङ्गु सङ्क्रमित भेटिएको थियो,’ उनले भने, ‘जाडोयाममा पनि डेङ्गु फैलिनुमा जयवायु परिवर्तन मुख्य कारण देखिएको छ।’ उनले सरसफाइमा हेलचक्र्याइँ नगर्न आग्रह गरे। ‘सामान्य बेवास्ताका कारण मानिसले अकालमा ज्यान गुमाउनुपरेको छ,’ उनले भने।

डेङ्गु नियन्त्रणका लागि ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान चलाउनुपर्ने विशेषज्ञको भनाइ छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकी जाडोयाम सुरु भए तापनि स्थानीय तह, टोल विकास समिति मिलेर यो अभियान चलाउनुपर्ने बताउँछन्। स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षमा डेङ्गु नियन्त्रण गर्न स्थानीय तहलाई ८ करोड रुपैयाँ र प्रदेश सरकारलाई २ करोड रुपैयाँ विनियोजन गरेको छ।

ईडीसीडीका डेङ्गु फोकल पर्सन गोर्कण दाहालले सम्बन्धित स्थानीय तहलाई लामखुट्टे खोज र नष्ट गर अभियान चलाउन बेलाबेलामा अनुरोध गर्दै आएको बताए।

डेङ्गु ‘एडिस’ जातको लामखुट्टेमार्फत फैलने गर्दछ। यस्तो लामखुट्टे विशेषतः बिहान र बेलुकी सूर्यास्त हुनुभन्दा अगाडि बढी सक्रिय हुने र त्यसैबेला सङ्क्रमण बढी सर्ने चिकित्सकको भनाइ छ। उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जीउ अत्यधिक दुख्ने डेङ्गुका प्रमुख लक्षण हुन्।

लामखुट्टेको टोकाइबाट डेङ्गुबाहेक मलेरिया, औलो, चिकनगुनिया (डेङ्गुसँग मिल्दोजुल्दो) रोग पनि लाग्न सक्छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help