जोडिनुहोस
  • होमपेज
  • उच्च शिक्षा अध्यादेश जारी गर्ने बागमती प्रदेश सरकारको निर्णय

उच्च शिक्षा अध्यादेश जारी गर्ने बागमती प्रदेश सरकारको निर्णय

बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश उच्च शिक्षा ऐनका केही प्रावधान संशोधन गर्नुपर्ने भएकाले अध्यादेश जारी गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठका अनुसार ऐनको दफा १३ को ५ लाई संशोधन गर्न अनुकूल देखिएकाले यो निर्णय गरिएको हो । सो दफामा प्रदेश विश्वविद्यालयको संरक्षक समिति बोर्ड अफ ट्रष्टीको पदावधि निर्धारणका विषयलाई स्पष्ट पार्न अध्यादेश जारी गर्ने निर्णय गरिएको उनले बताए ।

उनका अनुसार संरक्षक समितिमा मनोनीत भएका संरक्षण समिति बोर्ड अफ ट्रष्टीका पदाधिकारीहरूको पहिलोपटक पदावधि कायम गर्दा गोला प्रथाद्वारा २ जनाको पदावधि २ वर्ष, ३ जनाको पदावधि ४ वर्ष र ३ जनाको पदावधि ६ वर्ष कायम गरिने व्यवस्था रहेको छ ।

उक्त व्यवस्थालाई संशोधन गरी समितिमा मनोनीत भएका पदाधिकारीहरूको पहिलोपटक पदावधि कायम गर्दा गोला प्रथाद्वारा ५ जनाको पदावधि ४ वर्ष र ३ जनाको पदावधि ६ वर्ष कायम गरिने व्यवस्था गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको उनले बताए । ऐन बमोजिम सदस्यहरूको पदावधिको गणना संरक्षक समितिको पहिलो बैठक बसेको मितिबाट प्रारम्भ भएको मानिने व्यवस्था रहेको छ ।

बैठकको निर्णयअनुसार प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले उक्त अध्यादेश जारी गर्नेछन् भने संसद् अधिवेशन आह्वान गरी प्रदेशसभा बैठकमा अध्यादेश पेस गरिने छ । उक्त अध्यादेश जारी भएको ६० दिन भित्र प्रतिस्थापन विधेयक ल्याएर संसद्‌बाट पारित गर्नुपर्ने हुन्छ ।

मन्त्रिपरिषद् बैठकले आगलागीमा परेर निधन भएका ३ जनालाई जनही १ लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपद् व्यवस्थापन कोषमार्फत आगलागी नियन्त्रणको क्रममा मृत्यु भएका ललितपुरका २ र रामेछापका एक परिवारलाई एकरएक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका