नवलपुर– लामो समयसम्म खडेरी परेपछि चितवन राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुका लागि पानी पोखरी निर्माण गरिएको छ । खडेरीका कारण निकुञ्जभित्रका प्राकृतिक पानीका स्रोतमा सतह घटेपछि दुई वटा पानी पोखरी निर्माण गरिएको हो ।
निकुञ्जका सूचना अधिकारी एवं वन संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले नयाँ पोखरी निर्माणसँगै पुराना पोखरीको मर्मत एवं व्यवस्थापन गरिएको बताए । “यस वर्ष विगतको तुलनामा निकुञ्जभित्रका ताल तथा पोखरीमा पानीको सतह घटेको छ”, उनले भने, “हामीले नियमित कार्यक्रमअन्तर्गत दुई वटा नयाँ पोखरी निर्माण गर्नाका साथै पाँच वटा पुराना पोखरी मर्मत गरेका छौँ ।”
वन्यजन्तुलाई पानी खानका लागि समस्या नहोस् भनेर पोखरी अभाव भएका स्थानमा नयाँ पोखरी निर्माण गरिएको भन्दै तिवारीले झारहरू आएर पुरिन लागेका तालको व्यवस्थापन र मर्मत गरिएको बताए । वन्यजन्तुका लागि पर्याप्त घाँसे मैदान बनाउन निकुञ्जमा नयाँ घाँसे मैदान निर्माण एवं व्यवस्थापनको काम भइरहेको उनले जानकारी दिए।
तिवारीका अनुसार राष्ट्रिय निकुञ्ज तथा आरक्षण आयोजनाअन्तर्गत तीन सय ७० हेक्टर घाँसे मैदान व्यवस्थापन गरिएको छ । “अहिले ताल परियोजनाअन्तर्गत दुई हेक्टर घाँसे मैदान व्यवस्थापनको काम भइरहेको छ”, उनले भने, “यही परियोजनाबाट एक लाख नौ हजार चार सय वर्ग मिटर क्षेत्रफलमा सिमसार क्षेत्र व्यवस्थापनको काम भइरहेको छ ।”
राष्ट्रिय प्रकृति संरक्षण कोष एनटिएनसीबाट समेत निकुञ्जभित्र घाँसे मैदान व्यवस्थापनको काम भइरहेको सूचना अधिकारी तिवारीले बताए । उनका अनुसार निकुञ्जभित्र कोषबाट करिब तीन सय हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापनको काम सम्पन्न भइसकेको छ ।
घाँस प्रजातिले ढाकेको क्षेत्रलाई घाँसेमैदानका रूपमा लिइन्छ । नवलपुर, चितवन, मकवानपुर र पर्सा जिल्लाको नौ सय ५२ दशमलव ६३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा करिब १० प्रतिशत भूभागमा घाँसे मैदान रहेको छ ।