जोडिनुहोस
  • होमपेज
  • आज स्विट्जरल्यान्ड जाँदै राष्ट्रपति

आज स्विट्जरल्यान्ड जाँदै राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज स्विट्जरल्यान्ड जाँदैछन् । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा भाग लिन उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज (मंगलबार) साँझ जेनेभा प्रस्थान गर्न लागेका हुन् ।

राष्ट्रपतिले यही जेठ ३१ गते सो अवसरमा उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा उनले जेठ ३० गते स्विस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्ने छन्। नेपालका राष्ट्र प्रमुख र स्विस महासङ्घका राष्ट्रपतिबीच यसरी द्विपक्षीय भेटवार्ता हुन लागेको सम्भवतः यो पहिलोपटक भएको बताइएको छ ।

भ्रमणकै क्रममा राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट सङ्घीय गणतन्त्र जर्मनीको बर्लिन प्रस्थान गर्ने कार्यक्रम रहेको मन्त्रालयलका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए ।

राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टिनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन् । उनले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्ने छन् । राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी सविता पौडेल रहनेछिन् ।

प्रतिनिधिमण्डलका अन्य सदस्यहरूमा राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरू, स्विट्जरल्यान्ड र जर्मनीका लागि नेपाली राजदूतहरू तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहनेछन् । राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्कनेछन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका