जोडिनुहोस
  • होमपेज
  • विश्व योग दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

विश्व योग दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले योग विज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताका लागि नेपाल मुख्य गन्तव्य बन्नसक्ने बताएका छन्।

विश्व योग दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले अध्येताका साथै ऐतिहासिक तथा पुरातात्विक तथ्यहरूले नेपाल योग भूमिको देश भन्ने पुष्टि गरेको बताएका छन्। उनले योग शारीरिक अभ्यास मात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनपद्धति भएको बताएका छन्।

‘योगले मन र शरीरलाई जोड्नुका साथै ज्ञान, कर्म, चेतना, सबलता एवं स्थिरतातर्फ डोहोर्‍याउँछ। साथै योगले स्वस्थ्यकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन सहयोग पुर्‍याउँछ’, उनको शुभकामना सन्देशमा भनिएको छ। उनले योग, ध्यान र साधनाका कारण तनावबाट मुक्त भई सकारात्मक उर्जा प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।

योग दिवसकै अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि योग र साधनालाई शिक्षा, जीवन र व्यवहारमा जोड्दै आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गर्न आवश्यक रहेको बताएका छन्। शुभकामना सन्देशमा उनले गर्दै योगाभ्यासलाई जीवनको अभिन्न क्रियाकलापका रूपमा अवलम्बन गरी स्वथ्य जीवनयापनको मार्गमा अघि बढ्न आग्रह गरे।

‘योगाभ्यासबाट रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने, व्यक्तिमा सकारात्मक सोचको विकास हुने, व्यक्तिमा अनुशासन र आन्तरिक ऊर्जा प्राप्ति हुने, आत्म ज्ञान प्राप्ति र आत्मप्रेरणा हासिल भई काममा प्रभावकारिता आउनेलगायतका सकारात्मक गुणको विकास हुन्छ’, सन्देशमा भनिएको छ।

प्रधानमन्त्रीले नेपाल शिव, जनक र बुद्ध सभ्यताको त्रिवेणीका रूपमा रहेको हिमवत् क्षेत्रमा बस्ने प्राचीन योगी, ऋषि, महर्षिले दीर्घ तपः साधनाको माध्यमबाट योगाभ्यासको विकास र गरेको धारणा व्यक्त गरेका छन्।

संयुक्त राष्ट्रसंघको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ का दिन पारित प्रस्तावअनुसार सन् २०१५ देखि हरेक वर्ष जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिएकोहो । ‘आफू र समाजका लागि योग’ नाराका साथ यो वर्ष विश्व योग दिवस मनाइँदैछ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका