काठमाडौँ । नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि शुरु हुँदैछ । आजदेखि २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुनेछ ।
महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्तावेज तयार भइसकेको अध्यक्ष माधवकुमार नेपालले जानकारी दिएका छन् । ती दस्तावेज कम्युनिष्ट पार्टीको इतिहासमा नयाँ र जनअधिकारको पक्षमा महत्वपूर्ण हुने उनले विश्वास व्यक्त गरेका छन् । महाधिवेशनमा १,८४९ प्रतिनिधिले भाग लिनेछन् । ती प्रतिनिधिले २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्नेछ । पार्टी अध्यक्ष नेपालले आइतबार महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ ।
पार्टी अध्यक्ष नेपालको नेतृत्वमा गठित महाधिवेशन मूल व्यवस्थापन समितिले महाधिवेशनका आवश्यक सबै काम अन्तिम चरणमा पुगेको जनाएको छ । काठमाडौँ उपत्यका बाहिरका प्रतिनिधिहरू आइसकेको जनाइएको छ । महाधिवेशनस्थल आसपासमा उनीहरूलाई आवासको व्यवस्था मिलाइएको छ भने प्रतिनिधिलाई महाधिवेशनस्थलभित्रै खानाको व्यवस्था गरिएको छ । महाधिवेशनस्थललाई आकर्षक बनाउन सिगारिएको छ ।
करिब तीन वर्षअघि एमालेबाट विभाजित भएर गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई एमालेकै निरन्तरताको रुपमा दशौँ राष्ट्रिय महाधिवेशनका रुपमा दाबी गरेको छ । एकीकृत समाजवादीले हालसम्म सम्पन्न भएका नौ अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौँ मानेको छ । एकीकृत समाजवादीको अध्यक्षका लागि वर्तमान अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले दाबि गरेका छन् ।