जोडिनुहोस
  • होमपेज
  • जीर्ण कारागारमा क्षमताभन्दा तेब्बर बन्दी, सुरक्षा र व्यवस्थापनमा समस्या

जीर्ण कारागारमा क्षमताभन्दा तेब्बर बन्दी, सुरक्षा र व्यवस्थापनमा समस्या

बैतडी। जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर बन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । पच्चीस जनाका निम्ति बनाइएको कारागारमा ७६ जनालाई राखिएको छ ।

चार दशकअघि बनेको कारागार भवन मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएको छभने क्षमताभन्दा बढी बन्दी राख्नुपर्नाले सुरक्षा र व्यवस्थापन चुनौती थपिएको कारागार प्रमुख धारा भण्डारीले बताए ।

टिनको छाना भएको भवनमा वर्षाको पानी चुहिन थालेपछि समस्या भएको छ । क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा सुरक्षा र व्यवस्थापनमा पनि चुनौती थपिएको उनले बताए ।

जेलर आवासगृह, सुरक्षा ब्यारेक पनि नभएको भण्डारीले बताए । उनले भने, ‘जेलरले २४सैँ घण्टा बस्नुपर्ने भए पनि आवासगृह छैन, छुट्टै भेटघाट कक्ष छैन, सुरक्षा ब्यारेक बनेको छैन । यसले सुरक्षा चुनौती थपिएको छ ।’

कारागारमा स्वास्थ्यकर्मी नभएकाले कैदीबन्दी सामान्य बिरामी हुँदा अस्पताल लैजानुपर्ने बाध्यता रहेको जेलर भण्डारीले बताए । उनले भने, ‘स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दी सामान्य बिरामी हुँदा जिल्ला अस्पताल लैजानुपर्ने बाध्यता छ । जिल्लामा उपचार सम्भव नभएर धनगढी, काठमाडौँ रेफर गर्छौँ । स्वास्थ्यकर्मी नभएकोबारे गृह मन्त्रालयलाई जानकारी गराएर माग गरेका छौँ ।’

केन्द्रबाट अनुगमनमा निकाय आउने पदाधिकारीलाई समस्याबारे ज्ञात भए पनि समाधान भने भएको छैन । विस २०४० मा निर्माण गरिएको कारागार भवन मर्मत नहुँदा जीर्ण छ ।

नयाँ भवन निर्माणका लागि कारागार व्यवस्थापन विभागलाई लागत अनुमानसहितको विवरण पठाइएको जेलर भण्डारीले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका