संयुक्त राष्ट्र संघको मुख्यालय, न्यूयोर्कमा मिथिला चित्रकला प्रदर्शनी सुरु भएको छ । संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यका लागि मिथिला हेरिटेज भन्ने नाराका साथ बिहीबारबाट प्रदर्शनी औपचारिक रुपमा सुरु भएको हो ।
मिथिला सेन्टर अमेरिका, नेपाली स्थायी नियोग र नेपाली महावाणिज्य दुतावास न्यूयोर्कको संयुक्त आयोजनामा सुरु भएको प्रदर्शनी जुलाई १७ सम्म चल्नेछ । प्रदर्शनीमा स्थायी र पर्यवेक्षक नियोगका प्रतिनिधिका साथै दिगो विकास लक्ष्य कार्यक्रममा सहभागि हुन आएका अधिकांश देशका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
निकै अर्थपूर्ण र कलात्मक रुपमा कोरिएका मिथिला चित्रले संयुक्त राष्ट्र संघको मुख्यालयमा उपस्थित भएका संसारभरका उच्चपदस्थ प्रतिनिधिहरुको ध्यानाकर्षण गरेको छ । प्रदर्शनीमा मिथिला चित्रकारहरु स्वयम्ले यसको बारेमा व्याख्या गरिरहेका छन् ।
दक्षिण नेपालका साथै उत्तरी भारतको मिथिला क्षेत्रको गौरव, ईतिहास, कला, सभ्यता, परम्परा र मौलिकतालाई दर्शाउने मिथिला चित्रकला साहित्यिक ज्ञान र कथाहरुसँग जोडिएको छ । मिथिला सेन्टर अमेरिकाको पहलमा गरिएको प्रदर्शनी जुलाई १७ सम्म चल्नेछ । प्रदर्शनी संयुक्त राष्ट्र संघको मुख्यालय, न्यूयोर्कमा जारी दिगो विकास लक्ष्य एसडीजीको उच्चस्तरीय सम्मेलनलाई लक्षित गरी आयोजना गरिएको हो ।
प्रदर्शनीमा एस के सुमन, प्रतिक रायमाझी, नुपुर निशिथ, शैली झा, शिभांगी सिंह, मनिशा शाह लगायतका चित्रकार को चित्रकाला प्रदर्शनी गरिएको छ । यस्तै जनकपुर महिला विकास केन्द्रका कलाकारहरु सेलो यादव, सुधिरा कर्ण, कोमल पूर्वे, निर्मला राम, मञ्जुला ठाकुर, सेब्ती मण्डल र अमृता दत्तको कला पनि प्रदर्शनी गरिएको छ ।