काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्थानीय सरकारको माध्यमबाट स्थानीय विवाद निरूपण गर्दा मेलमिलापलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएकी छन् ।
शुक्रवार काठमाडौंमा स्थानीय वडास्तरीय विवाद र निरूपणका विषयमा अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले यस्तो बताएकी हुन् । उनले महानगरपालिकाले मेलमिलाप केन्द्रबाट स्थानीय विवाद टुङ्ग्याउँदा मेलमिलापलाई पहिलो प्राथमिकतामा राखेर विवाद निरूपण गरिरहेको जिकिर गरिन् ।
उनले न्याय निरूपण गर्दा अक्षरमा के—के छन् भनेर हेर्ने मात्र नभई व्यवहारिक पक्षलाई हेरेर न्याय निरूपण गरिरहेको दाबी गरिन् । महानगरपालिकाका ३२ वटै वडामा मेलमिलाप केन्द्र सञ्चालनमा रहेको र यसले न्याय निरूपणलाई छिटो, छरितो बनाउनमा पनि महत्वपूर्ण भुमिका खेलेको बताइन् ।
एक वर्षमा केन्द्रको न्यायिक समितिबाट ७० प्रतिशत भन्दा धेरै मुद्दाको निरूपण गरेको बताइन् । ७० प्रतिशत भन्दा बढी निरूपण गरिरहँदा प्राथमिकतामा मेलमिलापलाई राखेको उपमेयर डंगोलको भनाइ छ । उपप्रमुख डंगोलले वडादेखि केन्द्रसम्म मेलमिलापबाट समग्रमा ६१ प्रतिशत मेलमिलाप गर्न सफल भएको बताउनु भयो । उहाँले दिगो रुपमा विवादलाई निरूपण गर्नका लागि मेलमिलाप मात्रै एउटा विकल्प हुनसक्ने पनि बताइन् ।
उनले अर्को वर्ष ८० प्रतिशत भन्दा बढी मेलमिलापबाट विवाद टुंग्याउने स्थितिसम्म पुग्ने दाबी गरिन् । वडा तहमा मेलमिलाप केन्द्रका माध्यमबाट ९० प्रतिशत भन्दा बढी विवाद समाधान गरिसकेको पनि बताइन् ।
उपप्रमुख डंगोलले न्यायिक समितिले ४३ हजार भन्दा बढी महानगरवासीलाई वडा—वडामा निःशुल्क कानुनी सहायता दिएको बताइन् । एक महिनामा ३२ सय करिब महानगरवासीले निःशुल्क कानुनी सहायता लिएको बताइन् । अबका मुद्दाहरू वडा तहबाटै ई।इजलासबाट तथ्याङ्क संकलन गर्ने काम सुरु गर्ने पनि बताइन् ।