जोडिनुहोस
  • होमपेज
  • मङ्सिरमा महाधिवेशन गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्णय, आठ जनालाई कारबाही

मङ्सिरमा महाधिवेशन गर्ने क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्णय, आठ जनालाई कारबाही

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले महाधिवेशनको मिति परिवर्तन गरेको छ । पार्टी विभाजनपछि साउन २६ देखि २९ गतेसम्म कृष्ण सेन इच्छुक प्रतिष्ठानमा बसेको आयोजक समितिको आकस्मिक बैठकले महाधिवेशनको मिति परिवर्तन गरेको हो ।

यसअघि कात्तिकको पहिलो साता गर्ने भनिएको महाधिवेशन नेकपा बहुमत समूह अलग भएपछि मङ्सिर १३ देखि २३ सम्म महाधिवेशनको अर्को मिति तय भएको नेता हुकुमबहादुर सिंहले जानकारी दिए । पार्टी नेतृत्व समाजवादी कार्यदिशामा जान नचाहेको आरोप लगाउँदै सहसंयोजक समेत रहेका धर्मेन्द्र बास्तोला समूहले साउन १ गते पार्टी विभाजन गरेका थिए ।

बैठकले आगामी महाधिवेशनबाट राजनीतिक कार्यदिशा, सामरिक कार्यदिशामा थप विकास गर्दै क्रान्तिको कार्यभार पूरा गर्न नयाँ ढङ्गले पार्टीलाई सुदृढ, एकताबद्ध र जुझारु रूपमा अगाडि बढाउने पनि सङ्कल्प प्रस्ताव पारित गरेको छ । प्रवक्ताको जिम्मेवारी हेमन्तप्रकाश ओलीलाई दिइएको छ । तर २४ सदस्य कार्यालय यथावत् राखिएको सिंहले जानकारी दिए ।

‘बैठकले प्रवक्ताको जिम्मेवारी हेमन्तप्रकाश ओली (सुदर्शन) लाई दिएको छ । २४ सदस्य कार्यालय यथावत् राखिएको छ । पार्टीबाट नेकपा बहुमत समूह अलग भएपछि सहसंयोजक सन्तबहादुर नेपाली मात्र रहेका छन् । रिक्त रहेको ठाउँमा कार्यालय तथा आयोजक सदस्य राख्ने कि नराख्ने जिम्मा कार्यालयलाई दिएको छ’, पार्टीको निर्णयबारे जानकारी दिँदै सिंहले भने ।

यस्तै पार्टीले विद्रोहमा उत्रिएका ८ जना नेताहरूलाई पार्टीबाट निष्कासन गरेको छ । सोमबार विद्रोहमा उत्रिने चेतावनी दिएका उनीहरूलाई कारबाही गरिएको सिंहले बताए । कारबाहीमा पर्नेमा भूपेन्द्र न्यौपाने (सङ्कुल), हरिकृष्ण गजुरेल (भास्कर) र वसन्त बोगटी तथा केन्द्रीय आयोजक समिति सदस्यहरू तेज विक्रम शाही (अर्जुन), इन्दिरा अधिकारी (वर्षा), हरिब खाँ (विशाल), शिलु न्यौपाने (रोर्शी) र सुनिता बुढाथोकी रहेकी छिन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका