जोडिनुहोस
  • होमपेज
  • नगर अस्पतालकै कर्मचारीको औषधी पसल अवैध

नगर अस्पतालकै कर्मचारीको औषधी पसल अवैध

मोरङ। मोरङको पथरी शनिश्चरे नगर अस्पतालका छैटौं तहका अधिकृत प्रेमलाल लिम्बु (प्रेम) ले आफ्नो घरमै अवैध रूपमा औषधी पसल सञ्चालन गरेको पाइएको छ । पथरी शनिश्चरे ७ स्थित बकैना डाँडामा रहेको उनको घरमा दुईवटा वेड राखेर अवैध व्यवसाय सञ्चालन गरेपछि अनुगमन टोलीले सिलबन्दी गरेको औषधी व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृत अनिल परियारले जानकारी दिनुभयाे ।

कार्यालयको समयमा लिम्बुको श्रीमतीले औषधी पसल हेर्ने गरेको पाइएको छ । जहाँ विरामीहरुको चेकजाँच पनि हुने अनुगमनका टोलीले जनाएको छ । अनुगमनका क्रममा सो औषधी पसलमा म्याद गुज्रिएको औषधी पनि फेला परेको थियो ।

यसरी सरकारी जागिर र निजी व्यवसायलाई एकैसाथ सञ्चालन गर्दै आएको यो गम्भीर नियम उल्लङ्घनको प्रकरणले स्थानीय स्वास्थ्य सेवामा प्रश्न उब्जीएकोछ । यस्ता कार्बाहीले स्थानीय स्वास्थ्य सेवाको गुणस्तर र नैतिकतामा जोड दिएको छ । नगरपालिकाले यस्ता अवैध गतिविधिहरू विरुद्ध कडा कदम चाल्ने र स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

लिम्बुकोसँगै अन्य तीन वटा अवैध औषधी पसल सिल गरिएको छ । बुधबार पथरी शनिश्चरे नगरपालिका, इलाका प्रहरी कार्यालय पथरी र औषधी व्यवस्था विभाग विराटनगरको संयुक्त टोलीले यस्ता पसलहरू सिलबन्दी गरेको हो ।

अनुगमनमा पथरी शनिश्चरे ९ को पुलचौकमा रहेको कुवेर भण्डारीको औषधी पसल, वडा नं. ६ को भातेगौँडा र वडा नं. ४ को सम्झना चौकमा रहेका हेमराज चन्द्रवंशीद्वारा सञ्चालित दुई औषधी पसलहरू पनि सिल गरिएको अनुगमन टोलीका संयोजक नगर उपप्रमुख देवीमाया काफ्लेले बताए ।

औषधी व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृत परियारले पसलहरूसँग आवश्यक दर्ता प्रमाण–पत्र नभएको र म्याद सकिएका औषधिहरू बिक्री गरिरहेको पाइएकोले कार्बाही गरिएको बताए ।

नगर उपप्रमुख देविमाया काफ्लेको संयोजकत्वमा गरिएको अनुगमनमा इलाका प्रहरी कार्यालय पथरीका डिएसपी मोहन विक्रम दाहाल, नगरका स्वास्थ्य शाखाका सिअहेव एकराज खत्री, जनप्रतिनिधिहरू, सञ्चारकर्मीहरू र नगर प्रहरीको उपस्थिति रहेको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका