काठमाडौं। मेरिकाको टेक्सासस्थित ह्युस्टन शहरमा अध्ययनरत एक नेपाली युवतीको गोली हानेर हत्या भएको छ। भोजपुर घर भएकी करिब २१ वर्षीया मुना पाण्डेको टेक्ससस्थित ह्युस्टनको एक अपार्टमेन्टमा गोली हानी हत्या भएको हो ।
समाचार एजेन्सीहरुकाअनुसार उनको छातीमा गोली लागेको छ । प्रहरीले अपार्टमेन्टको कोठामा गोली लागेर मृत अवस्थामा रहेकी मुनाको शव फेला पारेको थियो । अपार्टमेन्टका कर्मचारीहरूका अनुसार सोमबार अपराह्न अज्ञात व्यक्तिले फोन गरेर कोठाभित्र लास भएको जानकारी दिएको थियो ।
त्यसपछि अपार्टमेन्टका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अपार्टमेन्टको कोठामा गोली लागेर मृत अवस्थामा रहेकी मुनालाई फेला पारेको थियो । मुनाका साथीहरूका अनुसार उनको फोन दुई दिनदेखि स्वीच्डअफ थियो । तर उनको फोन भने फेला परेको छैन ।
नेपालमा रहेका उनका परिवारका सदस्यलाई घटनाका बारेमा खबर गरिसकिएको नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमले बताएका छन् । २०२१ मा मुना स्नातक अध्ययनका लागि अमेरिका गएकी थिइन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।