जोडिनुहोस
  • होमपेज
  • मुख्यसचिवलाई प्रधानमन्त्रीको निर्देशन – सुशासन कायम गर्न कर्मचारी प्रशासन चुस्त बनाउनु

मुख्यसचिवलाई प्रधानमन्त्रीको निर्देशन – सुशासन कायम गर्न कर्मचारी प्रशासन चुस्त बनाउनु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मुख्यसचिव एकनारायण अर्याललाई सुशासन कायम गर्न कर्मचारी प्रशासन चुस्त बनाउन निर्देशन दिएका छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकबाट अर्याललाई बधाई दिदैँ प्रधानमन्त्री ओलीले नागरिकलाई चुस्त सेवा दिन र विकास आयोजनालाई अगाडि बढाउन पनि निर्देशन दिएका हुन् ।

‘सरकारले नीतिगत नेतृत्व मात्र गर्ने भएकाले कार्यान्वयन प्रभावकारी हुन कर्मचारी प्रशासनको ठूलो भूमिका रहेको प्रधानमन्त्रीले बताएका छन् । प्रशासनिक कार्यलाई सशक्त बनाउन सहजीकरण गर्न मुख्यसचिवले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने ओलीले बताएका छन् । निजामती प्रशासन स्थायी सरकार भएकाले अधिकारीलाई आफ्नो कामप्रति जवाफदेही बनाउने, तत्काल गुनासो सुन्ने र समाधान गर्ने प्रणाली बनाउन हरेक निकायका अधिकारीले सार्वजनिक रूपमा सुनुवाइ गर्न मिल्ने गरी सामाजिक सञ्जालमा आ–आफ्नो कामको विवरण दिने पेज बनाउ समेत प्रधानमन्त्री ओलीले मुख्यसचिव अर्याललाई सुझाव दिएका छन् ।

प्रधानमन्त्रीले भनेका छन्, ‘सवारी चालक अनुमतिका लागि, अस्पतालमा सेवा लिन, नागरिकता, पासपोर्ट लिन किन लाइन बस्नुपर्छ ? विकास निर्माणका आयोजनाहरु किन ढिलाइ भइरहेका छन् ? यी सबै कुरामा सम्बन्धित अधिकारीले तत्काल जवाफ दिने र सम्बोधन गर्ने प्रणाली विकास गर्न यसले सहयोग पुग्छ ।’

सबै क्षेत्रका गरी करिब चार लाख (निजामती , शिक्षक, सुरक्षा ) राष्ट्र सेवक कर्मचारी रहेको र कार्यसम्पादनमा उनीहरूको सफलताले नागरिकमा सन्तुष्टि आउने प्रधानमन्त्रीको भनाइ छ । ‘कामहरू अघि बढ्छन् र देश सफल हुन्छ । सबै कर्मचारी जागिरे मात्र होइनन्, नागरिकका सेवक हुन्’, प्रधानमन्त्री ओलीले भनेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका