जोडिनुहोस
  • होमपेज
  • पर्वत अस्पतालमा पाँच वर्षदेखि भेन्टिलेटर र आईसीयू प्रयोगविहीन

पर्वत अस्पतालमा पाँच वर्षदेखि भेन्टिलेटर र आईसीयू प्रयोगविहीन

पर्वत : पर्वत अस्पतालमा आवश्यक दक्ष जनशक्ति अभावमा करोडौँ मूल्यका अत्याधुनिक भेन्टिलेटर र आईसीयू प्रयोगविहीन बनेका छन्।

अस्पतालमा पाँच शय्या आईसीयू र सातवटा भेन्टिलेटर  छन्। तर भेन्टिलेटर आवश्यक परेको बिरामी अस्पतालमा आएमा बिरामीले त्यो सेवा उपभोग गर्न पाउँदैनन्। तत्कालीन कोभिड–१९ को सङ्क्रमण वेला भित्र्याइएका ती भेन्टिलेटर अहिलेसम्म पनि प्रयोगमा आउन नसकेका हुन्। लामो समयसम्म प्रयोगमा नआउँदा उपकरण कामै नलाग्ने अवस्थामा पुगेका छन्।

गण्डकी प्रदेश सरकारको एक करोड ६९ लाख रुपैयाँ लगानीमा आईसीयू र भेन्टिलेटर तयार पारिएको थियो। यसबाहेक लायन्स क्लबदेखि अन्तर्राष्ट्रिय सहयोगबाट आएका भेन्टिलेटरको सङ्ख्या अहिलेसम्म सात पुगेको छ। तर ती भेन्टिलेटरमा अहिलेसम्म पनि एकजना बिरामीको उपचार गर्न पाइएको छैन।

पाँच वर्षअघि अस्पतालको पुरानो भवनमा आईसीयू कक्ष निर्माण गरिएको थियो। तीन डाक्टर र तीन नर्सले भेन्टिलेटर सञ्चालनका लागि पोखराबाट यसको तालिम पनि गरेर आए तर उनीहरूको सिप पनि प्रयोगमा आउन पाएको छैन। १५ शय्याबाट ५० शय्यामा स्तरोन्नति भएको पर्वत अस्पताल पुरानो संरचनाबाट नयाँ संरचनामा सारिएको छ। सुविधासम्पन्न भवन बनेपछि पुराना भवनका सामग्री र सेवा नयाँ भवनमा सारिएको हो। त्यस क्रममा जडान भएका भेन्टिलेटर पनि निकालेर नयाँ भवनमा सुरक्षित तरिकाले थन्क्याइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बाँस्तोलाले जानकारी दिए।

भेन्टिलेटर सञ्चालन गर्नका लागि आवश्यक दक्ष जनशक्ति नभएकै कारण आईसीयूमा प्रयोग हुने सबै सामग्री थन्क्याएर राखिएको उनले बताए।  एउटा भेन्टिलेटर चलाउन छुट्टै डाक्टर, एकजना एनेस्थेसियालोजिष्ट, एकजना स्टाफ नर्स र एकजना कार्यालय सहयोगीको आवश्यकता पर्ने उनले बताए।

सातवटा भेन्टिलेटर चलाउन २८ देखि ३० जनासम्म जनशक्ति आवश्यक हुने भए पनि एकजना पनि नहुँदा समस्या भएको उनले बताए। “पहिले त यसलाई ५० शय्या क्षमताको अस्पतालका रूपमा सरकारले स्वीकृति दिनुपर्छ। त्यही हिसाबको कन्सल्टेन्ट आउनुहुन्छ। १५ शय्या अनुमति भएको अवस्थामा यो सञ्चालन गर्न सकिँदैन’, उनले भने।

कोभिड- १९ को सङ्क्रमण चरम अवस्थामा रहेका बेला जिल्लावासीले भेन्टिलेटर खोज्दै पोखरा पुग्न नपरोस् भनेर सहयोगीले पनि तत्कालै सहयोग गरेका थिए। झण्डै पाँच करोडभन्दा बढी मूल्यका ती सामग्री थन्क्याएर राखेको भए पनि वेलावेलामा परीक्षण र मर्मत भने गर्ने गरिएको अस्पतालको दाबी छ। स्वास्थ्य सेवा विभागले छात्रवृत्ति करारका डक्टर पठाइदिए वा प्रदेशले विज्ञापन नै खुलाएर जनशक्ति पठाएका अवस्थामा मात्रै भेन्टिलेटर सञ्चालन गर्न सकिने अस्पतालले जनाएको छ।

अस्पताल विकास समितिका अध्यक्ष शंकर गिरीले यसबारेमा प्रदेश सरकारमा पटकपटक कुरा गरे पनि अहिलेसम्म सुनुवाइ नभएको बताए। राज्यको लगानी सही ठाउँमा नहुँदा महँगा सामग्री प्रयोगविहीन भएको र जनताले त्यो सुविधा पाउन नसकेको उनको भनाइ छ।

अस्पतालमा रहेका स्रोत र साधनलाई प्रयोगमा ल्याउन सक्ने जनशक्ति सरकारले दिए यो क्षेत्रका बासिन्दा पोखरा, काठमाडौँ जानुपर्ने अवस्थाको अन्त्य हुने उनको भनाइ छ। ‘हामीसँग स्रोत भएर के गर्नु? यहाँ रहेका भेन्टिलेटर सञ्चालन गर्ने हो भने मुस्ताङदेखिका बिरामीले पर्वत अस्पतालमै सेवा पाउने थिए। तर प्रदेशले यो किन देखिरहेको छैन?’, गिरीले भने।

भेन्टिलेटर प्राप्त गर्ने र जडान गर्ने वेला अस्पताल विकास समितिको अध्यक्ष रहेका गोविन्द पहाडीले सरकारले जनशक्ति नदिएकै कारण अस्पतालले समस्या भोगिरहेको बताए। पहाडीका अनुसार बच्चाका लागि समेत ‘चाइल्ड आईसीयू’ बनाउन ‘पेड्रियाट्रिक वार्ड’ को निर्माण गर्ने भनेर सरकारले दिएको दुई करोड रुपैयाँबाट सामग्री किनिएका थिए।

त्यही वेला लायन्स क्लबले समेत भेन्टिलेटर दिए भने थप सामग्री अस्पताल आफैँले किनेको थियो। ‘सबै भयो जनशक्ति भएनन्। यहाँको निजी स्रोतबाट जनशक्ति राख्दा एक महिना त पालिएला, दोस्रो महिनाबाट तलब कसरी खुवाउने? यसमा खास तीन डाक्टर चाहिने रहेछन्। एकजना इन्टरनल मेडिसिन पढेको, एकजना एनेस्थेसियोलोजिष्ट, एकजना नेफ्रोलोजिष्ट चाहिने रहेछ’, उनले भने, ‘यी तीनजना नै नभएसम्म डाक्टरले रिस्क नलिने रहेछन्।’

पर्वत अस्पतालमा आईसीयू र भेन्टिलेटरको सुविधा भइदिए पोखरा र काठमाडौँका  अस्पतालमा जान सक्ने उतै गए पनि आर्थिक समस्यामा रहेकाहरूले भने जिल्लामै उपचार पाउने उनको भनाइ छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका