जोडिनुहोस
  • होमपेज
  • उपसभामुख रानालाई हटाउने सत्ता गठबन्धनको तयारी, रास्वपाको आकस्मिक बैठक

उपसभामुख रानालाई हटाउने सत्ता गठबन्धनको तयारी, रास्वपाको आकस्मिक बैठक

काठमाडौं । सत्ता गठबन्धनको बैठकमा उपसभामुख इन्दिरा रानामगरलाई हटाउने विषयमा छलफल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आकस्मिक बैठक डाकेको छ । सोमबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा उपसभामुख रानामाथि महाभियोग प्रस्ताव दर्ता गर्ने विषयमा छलफल भएको प्रति रास्वपाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सत्तारुढ दलले रानामाथि महाभियोग दर्ताको तयारी थालेपछि त्यसबारे छलफल गर्न काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्य र सांसदहरूको बैठक बोलाइएको सांसद अशोक चौधरीले जानकारी दिए । प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । त्यसअघि रास्वपाले बैठक बोलाएको हो । रास्वपाको कोटाबाट उपसभामुख बनेकी रानालाई हटाउने तयारी अघि बढेपछि राजनीतिक वृत्तमा तरङ्ग सिर्जना भएको छ ।

‘पदअनुकूल आचरण नगरेको’ भन्दै संविधानको धारा ९१ मा टेकेर सत्तारुढ दलले उपसभामुख रानाविरूद्ध प्रतिनिधि सभामा प्रस्ताव दर्ताको तयारी गरेका हुन् । संविधानको धारा ९१ उपधारा (६) को (ग) मा पदअनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा सभामुख वा उपसभामुख पदमुक्त हुने व्यवस्था छ ।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले उपसभामुखले पछिल्लो समय पद अनुकूलको आचरण नगरेको उल्लेख गर्दै मार्गप्रशस्त गर्न आग्रह गरे । ‘उपसभामुखले पदअनुकूलको आचरण–व्यवहार गर्नुभएको छैन । पदीय मर्यादाको कुरा गर्नुभएको छैन,’ बर्तौलाले भने, ‘यो गम्भीर त्रुटि हो, यो मानवीय त्रुटि होइन । नियतवश गरिएको पदीय आचरण विपरीतको गतिविधि हो ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका