जोडिनुहोस
  • होमपेज
  • सुदूरपश्चिममा भीषण वर्षासँगै बाढीपहिरो, मुख्य राजमार्गहरु अवरुद्ध

सुदूरपश्चिममा भीषण वर्षासँगै बाढीपहिरो, मुख्य राजमार्गहरु अवरुद्ध

कैलाली । सुदूरपश्चिम प्रदेशमा भीषण वषासँगै विभिन्न मुख्य तथा सहायक सडकहरू अवरुद्ध भएका छन् । वर्षा अझै नरोकिएकोले सर्तक रहन प्रहरीले अनुरोध गरेको छ ।

बिहीबारदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा भीमदत्त राजमार्गसहित विभिन्न मुख्य राजमार्ग र ग्रामीण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । प्रहरीका अनुसार तराईका जिल्लाबाट सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग र डडेल्धुरा डोटी जोड्ने के आईसिंह राजमार्ग अवरुद्ध भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार भीमदत्त राजमार्गको साहुखर्क क्षेत्रमा पहिरो खसेको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित साहुखर्कमा पहिरो खसेपछि केआईसिंह राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । यस्तै डोटीको बुडरदेखि जोगबुढा जोड्ने सडक पनि पूर्ण रूपमा बन्द भएको छ ।

जिल्ला प्रहरी कार्यालयले सूचना जारी गर्दै पहिरो खस्ने र वर्षा हुने क्रम नरोकिएकाले सुरक्षित रूपमा यात्रा गर्न पनि आग्रह गरेको छ । अहिले पहिरो हटाउने र सडक सुचारु गर्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

पहाडी जिल्लामा पहिरोले जनजीवन प्रभावित हुँदा तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा बाढीले जनजीवन प्रभावित भएको छ । अहिलेसम्म बाढीले ठुलो क्षति नपुराए पनि स्थानीयहरू सुरक्षित स्थानमा जाने क्रम जारी छ ।

कैलालीको दक्षिण क्षेत्रको बाढी प्रभावित क्षेत्रमा बसोबास गर्नेहरू उच्चो क्षेत्रमा जान थालेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीले यसअघि नै बाढी आउन सक्ने भन्दै स्थानीयलाई सुरक्षित स्थलमा रहन सूचना जारी गरिसकेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले अहिले पानी केही कम भएको भन्दै बाढीले ठुलो क्षति नभएको जानकारी दिएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका