जोडिनुहोस
  • होमपेज
  • तिहारमा लोडसेडिङ हुँदैन, जति विद्युत् प्रयोग गरेपनि हुन्छः कुलमान घिसिङ

तिहारमा लोडसेडिङ हुँदैन, जति विद्युत् प्रयोग गरेपनि हुन्छः कुलमान घिसिङ

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा धेरै भन्दा धेरै विद्युत् खपत गर्न आग्रह गरेका छन्। कार्यकारी निर्देशक घिसिङले विद्युत् खपतको लागि पर्याप्त विद्युत् भएकाले तिहारमा जतिसक्दो बढी विद्युत् प्रयोग गर्दा पनि लोडसेडिङ नहुने बताएका हुन्।

उनले कुनै प्राविधिक समस्याबाहेक लक्ष्मी पूजामा बत्ती नजाने बताए। उनले यो वर्षको तिहारमा मुलुकभित्र पुग्ने विद्युत् उत्पादन रहेको भन्दै तिहारको लागि विद्युत् आयात गर्नुपर्ने अवस्था नरहेको बताए।

उनले सकेसम्म तिहारमा विद्युत् पुर्‍याएर निर्यात समेत गर्न पुग्ने विद्युत् प्राधिकरणसँग रहेको बताए। घिसिङले असोज दोस्रो साता आएको बाढीले ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित जलविद्युत् आयोजनामा ठूलो क्षति पु¥याएको बताए।

उनले भने, ‘मुख्य गरेर यो वर्ष वर्षाका कारण आएको बाढीपहिरोको कारणले जलविद्युत् क्षेत्रमा ठूलो क्षति पुगेको छ। प्राधिकरण र निजी क्षेत्र दुवैमा क्षति पुगेको छ। तामाकोशी ४६५ मेगावट अहिले पनि आउट छ। प्रसारणलाइन बगाएको हुनाले काबेली करिडोरको करिव २ सय मेगावटको आयोजनाहरु आउट छन्। करिव ७ सय मेगावटका जलविद्युत् प्रणाली भन्दा बाहिर छन्। एक महिना भन्दा बढी भयो उत्पादन भएको छैन। त्यसबाट राजश्व संकलनमा ठूलो घाटा भएको छ। मर्मतको लागि प्राधिकरणले ठूलो रकम खर्च गर्नुपर्ने अवस्था छ। यति हुँदा पनि हामीलाई पुग्ने विद्युत् उत्पादन छ।’

उनले अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित रहेका कारण हिउँदमा भने आयात गरेर व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको बताए। उनले अहिले पनि २१ सय मेगावट विद्युत् उत्पादन भएपनि घटेर १९ सयमा झरेको बताए। उनले यो वर्ष बाढीपहिरोका कारण जलविद्युत् आयोजनाहरूमा क्षति पुगेका कारण हिउँदमा थप विद्युत् आयात गर्नुपर्ने अवस्था रहेको बताए।

उनले भने, ’करिब २ हजार एक सय मेगावाटको उत्पादन अहिले छ। तर त्यो घटेर १९ सय मेगावटमा झरेको छ। दैनिक रुपमा उत्पादन घट्दो क्रममा छ। तिहारको लागि हाम्रो उत्पादनले हामीलाई पुग्छ। अहिले पनि हामीले निर्यात गरिरहेका छौँ। यो वर्ष धेरै निर्यात हुने सम्भावना घट्यो। १२ सय मेगावाट विद्युत् निर्यात हुने अवस्थामा पुग्दा ठूलो बाढीपहिरो गयो। तर यो वर्षको तिहारमा हामीलाई पुग्ने विद्युत् उत्पादन हुन्छ। तिहारको लागि विद्युत् आयात गर्नुपर्दैन। बढी पनि हुन्छ। कतै–कतै प्राविधिक समस्या भएर लाइन गयो भने मात्रै नत्र तिहारमा विद्युत् नपुगेर लाइन काट्नुपर्ने अवस्था छैन। तिहारमा विद्युत् जति प्रयोग गर्न सकिन्छ।’

घिसिङको पहिलो कार्यकालमा लोडसेडिङ हटाएर चर्चा पाएका थिए। २०७३ सालको तिहारमा लोडसेडिङबिना झिलिमिलि बत्ती बाल्ने वातावरण बनाएका थिए। तिहारको लक्ष्मी पूजाका दिन सबैभन्दा धेरै खपत हुने गरेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका