पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देहीमा बयान गराएर जिल्ला प्रहरी कार्यालय लैजाँदै गर्दा नाराबाजी गर्न लागेका ७ जना पक्राउ परेका छन्।
रविलाई प्रहरी कार्यालय लैजाँदै गर्दा कार्यालय बाहिर नाराबाजी गर्न लागेका ७ जना रास्वपा कार्यकर्ता पक्राउ परेका हुन्। निषेधित क्षेत्रमा नाराबाजी गर्न लागिएपछि उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए। प्रशासनले प्रहरी कर्यालय रहेको गैह्रापाटन क्षेत्र र सहिदचोक आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा बयान गराएर शुक्रबार रविलाई कास्की ल्याइएको हो। मंगलबार कास्कीबाट जहाजबाट भैरहवा पु¥याइएका सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि सुप्रिम सहकारीको रकम हिनामिनामा पनि जोडिएको भन्दै बयान लागि लगिएको थियो।
लामिछानेसँग बयान लिएर पोखरा ल्याइएको छ। सुप्रिमबाट लामिछानेले २ करोड र जीबी राई सम्बद्धहरूको नामबाट १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत् गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबीन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।
पोखराको सूर्यदर्शन सहकारीमा रविको नाममा १ करोड रुपैयाँ गएको र त्यो पछि गोर्खा मिडियाकै नाममा मिलान गराइएको प्रतिवेदनमा छ। सूर्यदर्शनबाट गोर्खा मिडियामा ५ करोड रुपैयाँ गएको देखिएको छ।