काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स भिड्दै छन् । त्रिवि क्रिकेट मैदानमा टस जितेर पोखराले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
कर्णाली र पोखरा दुवै प्रतियोगितामा उत्कृष्ट पुनरागमन गरेका टोली हुन् । सुरूआतको दुई खेल हारेको कुशल भुर्तेलको टिम पोखराले यसअघि लुम्बिनी लायन्सलाई १० विकेटले हराएको थियो । सो खेलमा एन्ड्रियस गसले एक सय चार रनको शतकीय पारी खेलेका थिए । उनी एनपीएलमा शतक बनाउने पहिलो खेलाडी हुन् । गस र दिनेश खरेलले पहिलो विकेटका लागि एक सय ७६ रनको किर्तिमानी साझेदारी गरेका थिए । यो जितले पोखरा लयमा फर्किएको छ । तर भुर्तेलको ब्याटबाट रन नबन्नु पोखराको लागि चिन्ताको विषय हो । आज भुर्तेलका बाट पोखराले लामो इनिङसको अपेक्षा राखेको छ ।
कर्णालीले पनि एनपीएलमा सुखद् सुरूआत गरेको थिएन । तेस्रो खेलमा आएर अंक जोडेको कर्णाली त्यसपछि भने हारेको छैन । अघिल्लो खेलमा कर्णालीले विराटनगर किंग्स विरुद्ध एक सय ३४ रनको लक्ष्य चेज गरेको थियो । कर्णालीका स्टार ब्याटर शिखर धवन भने अब हुने छैनन् । उनी चार खेल खेलेर भारत फर्किइसकेका छन् । तीन खेलमा अपेक्षा अनुसारको प्रदर्शन गर्न नसकेका ओपनर देव खनालले विराटनर विरुद्ध भने अर्धशतक बनाएका थिए ।
चाडविक बाल्टन, विलियम बोसिस्टो, गुल्सन झा, जिसान मक्सूद, सोमपाल कामीले क्षमता अनुसार खेले कर्णाली लगातार तेस्रो जित निकाल्न सक्षम हुनेछ । एनपीएलमा शानदार ढंगबाट लयमा फर्किएका यी दुई टोलीबीचको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।