जोडिनुहोस
  • होमपेज
  • लीला पछाईमार्फत जीबी राईको क्रिप्टोकरेन्सीमा १८ करोड लगानी

लीला पछाईमार्फत जीबी राईको क्रिप्टोकरेन्सीमा १८ करोड लगानी

पोखरा। सहकारीको बचत अपचलनबाट आर्जित रकम जीबी राईले लीला पछाई र मलेसियाका एनआरएन विश्वविक्रम राईमार्फत ‘क्रिप्टो करेन्सी’ मा लगानी गरेको भेटिएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले पछाई र राईमार्फत १८ करोड ४८ लाख ८ हजार ८५ रुपैयाँ बराबरको डिजिटल कारोबार गरी क्रिप्टो करेन्सीमा लगानी गरेको फेला पारेको हो ।

रवि लामिछानेसहित आइतबार ४४ जनाविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर गर्ने क्रममा जिल्ला सरकारी वकिल कार्यालयले क्रिप्टो करेन्सीमा लगानी भएको प्रमाणसमेत बुझाएको छ । सूर्यदर्शन सहकारीबाट समेत पछाईको बैंक खातामा रकम गएको देखिएपछि उनलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याएको थियो । गुल्मीको सामान्य परिवारकी पछाई जीबीकै संगतले विलासी जीवन बिताइरहेकी थिइन् ।

सूर्यदर्शन सहकारीबाट उनको प्राइम बैंकको खातामा सोझै ५० लाख रुपैयाँ र सूर्यदर्शन हुँदै जीबी राईको खाताबाट १ करोड ५० लाख रुपैयाँ जम्मा भएको छ । उनको नाममा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड महाराजगञ्ज र न्युरोड शाखामा ५० लाख रुपैयाँ फिक्स्ड डिपोजिट गरिएको भेटिएको छ । उक्त रकम उनले आफ्नो नाममा ललितपुरको खुमलटारमा घर किन्न, पोखराको रिठ्ठेपानीमा आमा राधा पछाईको नाममा घर किन्न, दिदी गीता पछाईका नाममा बुटवलमा जग्गा किन्न, गाडी, स्कुटर र गरगहना किन्न खर्च गरेकी छन् । पछाईले उक्त रकम लिएको प्रहरीसँगको बयानका क्रममा स्वीकारेकी छन् ।

लीला पछाईको मोबाइलबाट भएको क्रिप्टो करेन्सी कारोबारको विश्लेषण प्रहरीले गरेको छ । पछाईको मोबाइल परीक्षणको क्रममा उनले जीबी राईको विभिन्न मोबाइल बैंकिङ एप आफ्नै मोबाइलबाट चलाएको भेटिएको थियो । आइक्लाउड खाताबाट बाइनान्स एप र क्रिप्टो करेन्सीको कारोबार गर्ने कम्पनी भीट्याब्समा कारोबार गरेको अनुसन्धानका क्रममा पत्ता लागेको थियो । त्यसरी कारोबार भएको रकम १८ करोड ४८ लाख ८ हजार ८५ रुपैयाँ रहेको छ । पछाईले जीबी राईले आफूलाई विश्वास गरी घर, गाडी किन्न रकम दिए पनि क्रिप्टो कारोबार भने जीबीकै निर्देशनमा विश्वविक्रम राईमार्फत भएको बयान दिएकी छन् ।

नेचर हर्ब्स इन्टरनेसनलका मलेसिया डाइरेक्टर विश्वविक्रमलाई जीबी राईसँगै मलेसिया घुम्न जाँदा एकपल्ट भेटेको उनले बयानमा भनेकी छन् । ‘म र जीबी राई मलेसिया घुम्न जाँदा विश्वविक्रम राईलाई एकपल्ट मात्र भेटेकी छु । उनी मलेसियाको एनआरएन हुन् भन्ने सुनेकी छु । उनले जीबी राईसँग सहकार्य गरेर मलेसियामा नेचर हर्ब्स इन्टरनेसनल प्रालि सञ्चालन गरेका छन् भन्ने सुनेकी छु,’ उनले अनुसन्धान अधिकारीसँग बयानमा भनेकी छन् ।

उनले जीबी राईकै ह्वाट्सएपमार्फत विश्वविक्रमसँग कुराकानी गरेको भेटिएको छ । जीबी राईको मोबाइल बैंकिङ एप आफूले चलाएको र जीबीले भनेबमोजिमको रकम विश्वविक्रम र उनकी श्रीमती सविना गुरुङको खातामा जम्मा गरिदिएको पछाईको बयानमा छ ।

अभियोगपत्रमा उल्लेख गरिएको उनको बयानमा भनिएको छ, ‘जीबी राईले तिमीले विश्वविक्रम राईलाई जम्मा गरिदिएको रकम मैले उहाँमार्फत भीट्याब्समा लगानी गरिदिएको छु, यो व्यापार हो तिमी विश्वविक्रम राईसँग समन्वय गरी भीट्याब्समा जोइन हुनु भन्नुभएकाले म विश्वविक्रम राईसँग समन्वय गरी उक्त रकम लगानीको सुनिश्चितताको लागि जुम मिटिङ हुने बेलामा विश्वविक्रम राईले बाइनान्स एप खोल्नको लागि सिकाएबमोजिम टाइपिङ गर्ने क्रममा मेरो बाइनान्स एपमा अकाउन्ट क्रियट भएको, विश्वविक्रम राईले भने अनुसार मोबाइलमा उक्त आईडी लग इन भएकोसम्म हो ।’

प्रहरीले पछाईको मोबाइल परीक्षणका क्रममा क्रिप्टो करेन्सी कारोबार गर्नको लागि बाइनान्स एपमा अकाउन्ट खोली उक्त खातामार्फत कारोबार गरेको देखिन्छ । जीबी राईको खाताबाट सेयर कारोबार गरी उक्त कारोबारबाट प्राप्त भएको रकम प्राइम कमर्सियल बैंकको मोबाइल एपमा राईकै पासवर्ड प्रयोग गरेर पछाईले कारोबार गरेको भेटिएको थियो ।

पछाईको मोबाइल परीक्षण गर्दा पछिल्लोपल्ट २०८० को मंसिरसम्म क्रिप्टो करेन्सीको कारोबार गरेको देखिन्छ । पछिल्लोपल्ट २३ लाख ८० हजार रुपैयाँ भीट्याब्समा लगानी गरेको भेटिएको अभियोगपत्रमा उल्लेख छ । उनले उक्त रकम विश्वविक्रम राईले भीट्याब्समा लगानी गरेमा राम्रो नाफा हुन्छ भनेपछि नेपालमा रहेको विश्वविक्रमको प्रभु बैंकको खातामा जम्मा गरेको बयान दिएकी छन् ।

जीबी राई र लिला पछाईको मिलेमतोमा विश्वविक्रम राईको बैंक खातामा रकम जम्मा गर्ने र उक्त रकमको हिसाब मिलान हुने गरी पछाईको मोबाइलमा भएको डिजिटल वालेटहरूमा जम्मा गरी भुक्तानीको हिसाब मिलान गरेको देखिएको छ । टेलिग्राम, वाट्सएप र जुममार्फत कुराकानी गरी क्रिप्टो करेन्सीमा लगानी गरेको अनुसन्धानबाट खुलेका थियो ।

सहकारी ऐनविपरीत लिएको रकम नै पछाईको निर्देशनमा कारोबार गरी÷गराई अवैध रूपमा विश्वविक्रम राईमार्फत डिजिटल करेन्सीमा लगानी गरी विदेश लगेको अभियोगपत्रमा उल्लेख गरिएको छ । अभियोगपत्रमा भनिएको छ, ‘जीबी राई र विश्वविक्रम राईको संलग्नतामा सहकारी संस्थाहरूबाट बचत अपचलन गरी प्राप्त रकम उनीहरूसँगकै मिलेमतोमा पछाईले क्रिप्टो करेन्सी कारोबारमा पछाईले जीबी राई, विश्वविक्रम राईसमेतसँग मिलेमतो गरी बाइनान्स एप÷भीट्याब्समार्फत क्रिप्टो करेन्सीमा लगानी गरी डिजिटल वालेटमार्फत हिसाब मिलान गरी १८ करोड ४८ लाख ८ हजार ८५ रुपैयाँ बराबरको अभौतिक मुद्रा संगठित समूहसँग मिलेमतो गरी नेपालको अर्थतन्त्र प्रतिकुल हुने गरी कानुनविपरीत कार्य गरी नेपाल राष्ट्र बैंक ऐनविपरीतको कसूर गरेको समेत देखिएकोले पछाईविरुद्ध व्यक्तिगत रूपमा सहकारीबाट अपचलन भइ लाभ लिएको २ करोड ७५ लाख ८ सय रुपैयाँ र सामूहिक दायित्वअन्तर्गत अभौतिक मुद्राको कारोबार गरी गराई हिसाब मिलान गरेको रकम १८ करोड ४८ लाख ८ हजार ८५ रुपैयाँ समेत पछाईबाट असुल गर्नुपर्छ ।’

सूर्यदर्शनबाट मात्रै होइन, चितवनको सहारा, काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट पनि पटक–पटक पछाईको खातामा रकम जम्मा भएको छ । जीबी राई र सहकारीबाट प्राप्त रकम मध्ये ग्यालेक्सी टीभी खोल्ने बेलामा गोर्खा मिडिया नेटवर्कको खातामा आफ्नो ४ वटा बैंक खाताबाट ९० लाख रुपैयाँ जम्मा गरेको, जीबी राईमार्फत विश्वविक्रम राईलाई भीट्याब्समा गरेको लगानी समेत जीबी राईकै रहने गरी हिसाव देखाएको बयान उनले दिएकी छन् । उनले जीबी राईकै रकम परिचालन गरी झण्डै १७ करोड बराबरको सेयर विभिन्न कम्पनीमा खरिद गरेकी छन् । ‘जीबीले सहकारी तथा व्यक्तिमार्फत मलाई सेयर बजारमा लगानी गर्नका लागि तथा उहाँलाई आवश्यक पर्दा चलाउनका लागि ‘पार्किङ’ मा राख्नुभएको हो,’ उनले बयानमा भनेकी छन् ।

सहकारी ठगीतर्फ पछाईसँग २ करोड २४ लाख ७५ हजार ८ सय रुपैयाँ मागदाबी गरिएको छ । सहकारी ऐन, २०७४ को दफा १२४ को उपदफा (१) को खण्ड (घ) (६) बमोजिम ८ देखि १० वर्षसम्म कैद सजाय र बिगोबराबरको जरिवाना सरकारी वकिल कार्यालयले माग गरेको छ । राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत पछाईबाट असुल्नुपर्ने बिगो १८ करोड ४८ लाख ८ सय ८५ रुपैयाँ कायम भएको छ । उक्त ऐनको दफा ९६ उपदफा (१) बमोजिम बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय गर्नुपर्ने अभियोगपत्रमा माग गरिएको छ । संगठित अपराध (निवारण) ऐन, २०७० बमोजिम थप ५० प्रतिशत कैद सजायको माग गरिएको छ ।

एकीकृत कसूरतर्फको सजायको हकमा मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को उपदफा (२) बमोजिम सबैभन्दा बढी सजा हुने कसूरबापतको सजाय र त्यसपछिको अधिकतम सजाय हुने अर्को कसूर वापतको सजायको आधा सजाय थप गरी सजाय गर्नुपर्ने अभियोगपत्रमा उल्लेख छ ।

सम्पत्ति शुद्धीकरणतर्फ पछाईको बिगो २४ करोड ६७ लाख ७ हजार ३४ रुपैयाँ माग गरिएको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३० को उपदफा (१) बमोजिम बिगोको दोब्बर जरिवाना र कसूरको गाम्भीर्य हेरी २ वर्षदेखि १५ वर्षसम्म कैद सजाय हुन तथा ३४ को उपदफा (१) बमोजिम शुद्धीकरण गरिएका सम्पत्तिह तथा सम्पत्ति अन्य सम्पत्तिबाट समेत जफत हुनुपर्ने माग सरकारी वकिल कार्यालयले गरेको छ ।

विश्वविक्रमलाई सूर्यदर्शन सहकारीको १० लाख र क्रिप्टो करेन्सीको कारोबार गरेको १८ करोड ४८ लाख ८ हजार ८५ गरी १८ करोड ५८ लाख ८ हजार ८५ रुपैयाँ बिगो दाबी गरिएको छ । पटक–पटक गरी उक्त रकम बराबरको अभौतिक कारोबार गरी अवैध रकम विश्वविक्रम राईले विदेशमा हस्तान्तरण गरेको अभियोगपत्रमा उल्लेख छ । उनलाई सहकारी ठगी, राष्ट्र बैंक ऐनविरुद्धको कसूर, एकीकृत कसूर र संगठित अपराधमा मुद्दा चलाउनुपर्ने अभियोगपत्रमा उल्लेख गरिएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका