काठमाडौं। रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि बिहीबार कास्की जिल्ला अदालत उपस्थित गराइएको छ ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा आइतबार उनीसहित ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेकाको अदालतमा बयान चलिरहेको छ । यसअघि पूर्व डीआईजी छविलाल जोशीको बयान सकिएको छ । मंगलबारदेखि लीला पछाईको बयान जारी छ । बिहीबार पछाईको बयान सकेर लामिछानेको बयान सुरू गर्ने अदालतको तयारी छ ।
आइतबार जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको थियो ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनीहरूविरुद्ध ३ वटा कसुरमा मुद्दा दर्ता छ ।