चितवन – उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कानुन सबैका लागि बराबर भएको बताएका छन् ।
नेपाल प्रेस युनियन चितवनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री सिंहले सहकारी प्रकरणको अनुसन्धान कानूनीरुपमा स्वतन्त्र रूपमा अघि बढेको बताए।
‘कानुन सबैका लागि समान हो । कानूनअनुरुप हुनुपर्ने हुन्छ’, उनले भने। उपप्रधानमन्त्री सिंहले संविधान संशोधनका लागि संसद्मा रहेका सबै दलसँग परामर्श भइरहेको बताए।
उनले भने, ‘संविधान संशोधन गर्न निश्चित विधि र प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । एउटा पार्टीले गरेर मात्र हुँदैन । यो काम संसद्मा रहेका सबै दलसँगको परामर्शमा दुई तिहाइ बहुमतबाट गर्नुपर्ने हुन्छ ।’
अहिलेको सरकारले अघिल्ला सरकारहरूले गरेका कामलाई विशेष ध्यान दिँदै व्यवस्थित गरेर अघि बढेको उपप्रधानमन्त्री सिंहको भनाइ थियो । अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म रहनेमा जोड दिँदै उनले कांग्रेस र एमालेबीचको समझदारीअनुसार सरकार अघि बढेको बताए ।
फरक प्रसंगमा उपप्रधानमन्त्री सिंहले मेला महोत्सवबाट देशको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताए।उनले भने, ‘निजी क्षेत्रले गरेका यस्ता कार्यक्रमलाई सरकारले सहयोग गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’