काठमाडौँ । आम जनता पार्टी (आजपा) ले सरकारले कर आतङ्क मच्चाएको भन्दै त्यसविरुद्ध १४ पुसमा काठमाडौँमा विरोध प्रदर्शन गर्ने भएको छ । केन्द्र, प्रदेश र स्थानीय तहसहितका ७६१ सरकारले लिइरहेको मनोमानी कर अन्त्य गर्नुपर्ने माग गर्दै आजपाले काठमाडौँमा विरोध प्रदर्शन गर्न लागेको हो ।
आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले समृद्ध नेपाल निर्माण गर्नका लागि सरकारपिच्छे मनोमानी कर आतङ्क बन्द गर्नुपर्ने बताए ।
‘मुलुकको उद्योग, व्यापार धराशायी बन्दै गइरहेको छ । सरकारले जसरी पनि कर असुल्ने नीति लिएको छ । उद्योग व्यापार ध्वस्त हुँदै गइरहेको भए पनि सरकारलाई केवल कर कसरी असुल्नेमा मात्रै ध्यान छ’, साहले भने, ‘सरकार पिच्छे पाइलापाइलामा कर लिने तर सेवा नदिने । कर लिने तर सोही अनुसारको सुविधा नदिने । केवल कर कसरी लिने भन्नेमा मात्रै सरकारको ध्यान छ ।’
नेपाल भन्दा ठुलो भूगोल, जनसङ्ख्या भएको मुलुक भारत र चीनमा कर थोरै भएको र त्यहाँको सरकारले उद्योगी व्यापारीलाई सेवा पनि बढी दिइरहेको उनले बताए । तर नेपालमा करमाथि कर लिने र उद्योगी व्यापारीको ढाँड सेक्ने काम सरकारले गरिरहेको आरोप साहले लगाए ।
सर्वसधारणदेखि उद्योगी व्यापारीले जताततै पाइलापिच्छे नै कर तिर्दातिदै निराश भएको बताउँदै उनले व्यवसाय गर्ने वातावरण सरकारले गिजोलिदिएको आरोप लगाए । मुलुकको ढुकुटी सिद्ध्याएको सरकारले विदेशीबाट ऋण लिएर नेपाली जनताको टाउकोमा ऋणको भारी बोकाएको बताए ।
मुलुकमा भ्रष्टाचार, अनियमित बढ्दै गइरहेको र विकास कार्य अवरुद्ध भएको बताउँदै उनले दलाल दलतन्त्र, सरकारको मनोमानी कर आतङ्क विरुद्ध जनता सडकमा आउन ढिलाइ गर्न नहुने बताए ।