काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी छ । बिहान ८ बजेबाट पार्टी कार्यालय चःमतिमा बसेको बैठकको आरम्भमा संविधान परिमार्जनबारे छलफल भइरहेको छ ।
पार्टीको बैठक सञ्चालन कार्यविधि संशोधन, पार्टीको आचार संहिताबारे छलफल र बैठकको समीक्षा गर्दै समापन हुने बताइएको छ । आइतबार पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपसभापति स्वर्णिम वाग्लेले समसामयिक राजनीति सन्दर्भमा जानकारी गराउँदै पार्टीका गतिविधिका बारे विषय राखेका थिए।
शनिबारको बैठकमा मंसिर १६ गते भएको स्थानीय तहको उपनिर्वाचनमा समीक्षा प्रतिवेदन पेश गरिएको थियो। पार्टीको अधिवेशन तथा महाधिवेशन सम्पन्न गर्दै संगठन निर्माण चरणलाई निर्धारित समयमा पुरा गर्न राष्ट्रव्यापी संगठन निर्माण अभियान सञ्चालन गर्ने पनि निर्णय भएको थियो। त्यसका लागि केन्द्रीय सदस्यको नेतृत्वमा केन्द्रीय विभाग, प्रदेश समिति, प्रदेश विभाग साथै पार्टीको सम्बन्धित निकायहरूले सिफारिस गरेको विज्ञ सदस्यहरू रहेको जिल्ला समिति अन्तर्गतका पार्टीको संरचनाहरूलाई सहयोग तथा सहजीकरण गर्न जिल्ला अनुसारको कार्यदल निर्माण गर्ने छलफल भएको थियो।