काठमाडौं। नेपालमा बिहीबारबाट पुनः नयाँ मौसमी प्रणाली भित्रिने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार पश्चिमी न्यूनचापीय प्रणाली भित्रिने भएको हो ।
यो प्रणालीको प्रभाव पश्चिम नेपालमा मात्रै पर्नेछ । ’बिहीबार यो प्रणाली भित्रिनेछ । यसको प्रभाव पश्चिम नेपालमा मात्रै पर्नेछ,’ मौसमविद् सञ्जिव अधिकारी भन्छन्, ’यसको असर मध्य र पूर्वी नेपालमा खासै पर्ने छैन ।’ पूर्वतर्फ धेरै सर्न नपाउँदै यो प्रणाली कमजोर भएर बाहिरिनेछ ।
मौसमविद् अधिकारीका अनुसार यो प्रणाली यसअघिका पश्चिमी न्यूनचापीय प्रणालीभन्दा कमजोर हुनेछ । जसका कारण देशभर नफैलिँदै बाहिरिनेछ । बिहीबार सुदूरपश्चिम प्रदेशदेखि गण्डकी प्रदेशसम्मका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । विभागले हिमपातको पनि सम्भावना रहेको बताएको छ ।
यो प्रणालीको केही असर तापक्रममा देखिए पनि त्यसले ठूलो प्रभाव नपार्ने मौसमविद् अधिकारीको भनाइ छ । यो प्रणालीले न्यूनतम तापक्रममा ठूलो प्रभाव नपर्ने उनले प्रष्ट पारे । अब विस्तारै चिसो कम हुँदै जाने उनले बताए । ’अब विस्तारै चिसो कम हुँदै जान्छ । ठूलो प्रणाली नभित्रिएको अवस्थामा अब तापक्रम बढ्दै जाने हो,’ मौसमविद् अधिकारी भन्छन्, ’जनवरी १५ बाट तापक्रम बढ्दै जान्छ । त्यसैले अब चिसो कम हुने र तातो बढ्दै जाने हो । त्यसैले न्यूनतम तापक्रम अहिलेकोभन्दा न्यून हुने सम्भावना कम छ । यो वर्ष हालसम्मको न्यूनतम तापक्रमभन्दा कम हुने सम्भावना कम हुन्छ ।’
यद्यपि, हुँदैन नै भन्न भने नसकिने मौसमविद्हरू बताउँछन् । विगत वर्षहरूको तथ्यांक विश्लेषण गर्दा पनि जनवरी १५ बाट तापक्रम बढ्दै गएको देखिने उनी बताउँछन् । त्यसैले अब क्रमिक रूपमा तापक्रम बढ्ने उनको भनाइ छ । जनवरीको पहिलो हप्ता भने औसतमा वर्षकै सबैभन्दा चिसो समय मानिन्छ ।
काठमाडौंमा यो वर्ष हालसम्मको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको थियो । मंसिर २९ गते काठमाडौंको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस थियो । डिसेम्बर र जनवरी न्यूनतम तापक्रम घटबढ भइरहने महिना हो ।