
काठमाडौँ। आज मे १ तारिख अर्थात् १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपाललगायत विश्वभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ।
श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनको स्मरण गर्दै प्रत्येक वर्ष यो दिवस मनाउने गरिन्छ। विश्वभरका मजदुरहरूले यस दिनलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गर्दै आएका छन्। यस वर्ष पनि नेपालका विभिन्न मजदुर सङ्गठनहरूले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदै छन्।
सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यो दिवस मनाइन्छ। सो आन्दोलनका क्रममा सिकागोको हेय मार्केटमा बम विस्फोट र प्रहरीको गोली लागेर सातजना मजदुरको मृत्यु भएको थियो। अन्ततः मजदुर आन्दोलनले सफलता प्राप्त गरेको थियो।
पछि, सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताहरूको बैठकले मे १ लाई विश्व श्रमिक दिवसका रूपमा विश्वभर मनाउने निर्णय गरेको थियो। नेपालमा विराटनगरमा विसं २००३ मा भएको श्रमिक आन्दोलनको सफलता र विसं २००७ को राजनीतिक परिवर्तनसँगै यो दिवस मनाउन थालिएको हो। विसं २०४६ को राजनीतिक परिवर्तनपछि नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको छ।
नेपालमा मे दिवसको परम्परा पञ्चायती शासनको विरोधका क्रममा भित्रिएको थियो। नेपाल ट्रेड युनियन महासङ्घका अनुसार पहिलोपटक विसं २०१९ मा नेपाल मजदुर सङ्गठनले पहिलो पटक मे दिवस आयोजना गरेको थियो।





































