
दमौली (तनहुँ)। तनहुँ जिल्लामा गत चैत महिनायता मात्रै १६२ हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ। यसबाट ठूलो क्षति पुगेको छ। स्थानीय पालिकाहरू र सरोकारवाला निकायहरूले डढेलो नियन्त्रणका लागि विभिन्न सचेतना कार्यक्रम सञ्चालन गरे पनि डढेलोका घटनाहरू भने निरन्तर भइरहेका छन्।
डिभिजन वन कार्यालय तनहुँका सूचना अधिकारी एवं सहायक वन अधिकृत राजकुमार श्रेष्ठका अनुसार यस अवधिमा जिल्लाका विभिन्न १२ वटा सामुदायिक वनमा डढेलो लागेको छ। यस सम्बन्धी एकीकृत विवरण सङ्कलनको कार्य भइरहेको उनले बताए।
वनमा डढेलो लगाउनु हुँदैन भनेर जिल्लाका दशवटै पालिकामा पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि डढेलो लाग्ने क्रम नरोकिएको श्रेष्ठको भनाइ छ। “स्थानीय तहको सहयोगमा सामुदायिक वनका पदाधिकारी र सदस्यहरूलाई राखेर सचेतना फैलाउने काम निरन्तर भइरहेकै छ तर पनि वर्षेनी डढेलोका घटना बढिरहेकै छन्। यसमा हामी सबै चिन्तित छौँ,” उनले भने।
जिल्लामा ८२ हजार ५४९ हेक्टर क्षेत्रफल वनले ढाकेको छ भने दशवटा स्थानीय तहमा ६१६ सामुदायिक वन, ४८५ कबुलियती वन र ६ वटा धार्मिक वन रहेका छन्। गर्मी मौसम सुरु भएसँगै यहाँका सामुदायिक वनमा डढेलो लाग्ने क्रम बढेको र यो मानवीय असावधानीकै कारण भए पनि त्यसमा संलग्नको पहिचान गर्न नसक्दा कारबाहीको दायरामा ल्याउन कठिनाइ भएको सूचना अधिकारी श्रेष्ठले बताए।
यहाँ घर नजिकैको पातपतिङ्गर सफा गर्ने नाममा जलाउने, गाईबाख्राका लागि घाँस पलाउँछ भन्दै वनमा आगो लगाउने प्रवृत्ति अझै कायमै छ। यसलाई निरुत्साहित गर्न सचेतनाका कार्यक्रम गरिए पनि अपेक्षित प्रतिफल आउन सकेको छैन। डिभिजन वन कार्यालयले जिल्लाका आठवटै सब डिभिजनमार्फत वन डढेलो सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ।
त्यस क्रममा वनमा अग्निरेखा बनाउने, पात भर्ने समयमा सफा गर्ने, वनजङ्गल बाहिर लगेर मात्र गोल पोल्ने, आगो बल्ने चीज लिएर वनमा नजाने, सुकेका र ढलेका रूख तथा हाँगाबिँगाहरू सुक्खा मौसम अगावै हटाउने विषयमा सामुदायिक वनका उपभोक्ता लगायतलाई सचेत गराइन्छ। “गर्मी मौसममा बिँडी, चुरोट खाएर ननिभाइ फाल्नाले, वन्यजन्तु भगाउन आगो लगाउनाले, नयाँ घाँस उमार्नका लागि आगो लगाउनाले डढेलोको प्रकोप बढ्न सक्छ,” श्रेष्ठले भने, “गोठालो तथा केटाकेटीहरूले मनोरञ्जनका लागि वनमा आगो बाल्ने, वन नजिकका खेतबारीमा झारपात जलाउने र ननिभाउने गर्नाले पनि आगलागीका घटना हुन सक्छन्। यसतर्फ सचेत हुनुपर्छ भनेर जानकारी दिइरहेकै छौँ।”
डढेलो लाग्ने १८ जिल्लामध्ये तनहुँ पनि उच्च जोखिममा पर्दछ। वन ऐनमा राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा क्षति भएको बिगो असुल उपर गरी तीन वर्ष कैद वा रु ६० हजारसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ।




































