समाचार
बुद्ध जयन्तीमा पनौती–नमोबुद्ध शान्ति पदयात्रा, पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास

काभ्रेपलाञ्चोक । बुद्ध जयन्तीको अवसर पारेर ऐतिहासिक एवं पुरातात्विक नगर पनौतीदेखि ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धसम्म बृहत शान्ति पदयात्रा आयोजना गरिने भएको छ। काभ्रे सेवा समाज संस्थाले यही वैशाख २९ गते उक्त पदयात्रा आयोजना गर्न लागेको हो।
आज बनेपामा आयोजित पत्रकार सम्मेलनमा पदयात्राले शान्ति र सद्भावको सन्देश फैलाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने तथा स्थानीय कला, संस्कृतिको सम्वद्र्धन गर्ने उद्देश्य लिएको जानकारी दिइयो। कार्यक्रममा संस्थाका अध्यक्ष पुरुषोत्तम नेपालले पनौतीको मानेश्वरीबाट सुरु हुने शान्ति पदयात्रा सुन्थान–ईंटे–शंखु–शंखेश्वरी–जङ्गलहुँदै नमोबुद्धमा पुगेर समापन हुने बताए। उक्त पदयात्राको दूरी नौ दशमलव पाँच किलोमिटर रहनेछ।
आयोजकका अनुसार पदयात्रामा विभिन्न संघसंस्था, सरकारी निकाय, व्यापार–व्यवसाय, नागरिक समाज, कानुन तथा सञ्चारकर्मीलगायत क्षेत्रका करिब एक हजार जनाको सहभागिता रहने लक्ष्य राखिएको छ। सुन्दर र प्राकृतिक सौन्दर्यले भरिपूर्ण काभ्रेपलाञ्चोकका विभिन्न धार्मिक, सांस्कृतिक र ऐतिहासिक धरोहरको संरक्षण र प्रवद्र्धन गर्दै विश्वभर चिनाउन यो पदयात्रा महत्वपूर्ण हुने विश्वास गरिएको छ। समाजले यसअघि २०८० असोज ६ गते पनि पनौतीदेखि नमोबुद्धसम्म विश्व शान्ति पदयात्रा आयोजना गरेको थियो।
नमोबुद्धलाई शान्तिका प्रतीक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको पवित्र स्थल मानिन्छ। बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछि पूर्वजन्ममा जीवन त्याग गरेको भूमिमा ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामकरण भएको किंवदन्ती छ।
किंबदन्तीअनुसार द्वापर युगका राजकुमारको अस्थिपञ्जर गाडेर बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा विशाल गुम्बा, मन्दिर र चैत्यहरू रहेका छन्। गुम्बामा बुद्ध पाठशालासमेत सञ्चालित छ। पनौतीबाट शंखु उपत्यका हुँदै र पर्यटकीय नगरी धुलिखेलबाट हाइकिङ गर्दै पनि पुग्न सकिने नमोबुद्धबाट मनोरम हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ।