गण्डकी। कास्कीको पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी ३३औँ संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा सूचना प्रविधि (आईटी) महोत्सवको उद्घाटनका अवसरमा मिथिलाको झिझिया नाचबाट गरिएको स्वागतलाई स्थानीयले बिर्सेका छैनन् ।
यही माघ १० गतेदेखि पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आयोजित महोत्सवमा थारू र भोजपुरी नृत्यप्रति स्थानीयको विशेष आकर्षण थियो भने महोत्सव किनमेलको गन्तव्य पनि बनेको थियो ।
सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा भएको अभूतपूर्व विकासले ल्याएको क्रान्ति झल्काउने आईटी उपकरण अवलोकन गर्ने थलो मात्र महोत्सव बनेन अपितु विभिन्न प्रदेशलाई जान्ने, बुझ्ने र अनुभव गर्न सकिने स्थान बन्यो ।
महोत्सवमा मधेस प्रदेशको उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयले राखेको ‘घुमौँ मधेस, बुझौँ मधेस’ कक्ष मधेसलाई बुझ्न महत्त्वपूर्ण बनेको छ । हरेक दिन महोत्सवका सहभागी करिब पाँच सय जनासम्मले यस कक्षमा आएर मधेस प्रदेश र यहाँको धार्मिक एवं पर्यटकीय गन्तव्यबारे बुझ्ने गरेको ‘घुमौँ मधेस, बुझौँ मधेस’ अभियानका संयोजक विकासकुमार ठाकुरले बताए ।
सहभागी जिज्ञासुलाई संयोजक ठाकुर, चन्द्रपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष उदय सापकोटा लगायतले मधेस प्रदेशको पर्यटन, त्यहाँको वास्तविकताका साथै मधेसीहरूले गर्ने न्यानो आतिथ्यता आदिबारे जानकारी गराउने गरेका छन् ।
मेला उद्घाटनका अवसरमा संयोजक ठाकुरले कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई मधेस प्रदेशका धार्मिक एवं पर्यटकीय गन्तव्यबारे सचित्र परिचय दिइएको पुस्तिका (बुकलेट) हस्तान्तरण गरेका थिए । उक्त अवसरमा मधेस प्रदेशको सांस्कृतिक धरोहरलाई झल्काउने झिझिया नृत्य र थारू नृत्यसमेत देखाइएको थियो ।
मधेस प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ पर्यटन राजधानी पोखरामा जारी महोत्सवका अवसरमा ‘घुमौँ मधेसः बुझौँ मधेस’ को प्रवद्र्धनात्मक कक्ष राखिएको संयोजक ठाकुरले बताए ।
प्रवद्र्धनात्मक सामग्रीका रुपमा महोत्सवका सहभागीलाई मधेस प्रदेशका पर्यटकीय गन्तव्यबारे सचित्र जानकारी समेटिएको पुस्तिका वितरण गरिएको छ । पुस्तिकामा प्राचीन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिरसहितका धार्मिक महत्वका स्थलबारे जानकारी गराइएको छ ।
मिथिलाञ्चलवासीको सांस्कृतिक धरोहर यस मन्दिर सन् १८९४ मा शिलान्यास भई सन् १९९१ मा निर्माण पूरा भएको पुस्तिकामा उल्लेख छ । पुस्तिकामा कोशी टप्पु वन्यजन्तु आरक्ष, सहलेश फूलबारी, गढीमाई, पर्सा राष्ट्रिय निकुञ्ज, पञ्चधुरा, दिनाभद्री मन्दिर, सिम्रौनगढ, कङ्कालिनी मन्दिर, धनुषाधाम, भरत तालबारे सचित्र जानकारी दिइएको छ ।
मधेस प्रदेशमा रहेका नुनथर, गहवामाई, छिन्नमस्ता भगवती मन्दिर, ठोरी, भिश्वाडाँडा, मटिहानी, रौजा मजार, कमलदह, चुरे शिवालिक पर्वत, राजदेवी मन्दिर, चुरियामाई, पारसनाथ मठ, पर्सागढी, दुुग्धेश्वरनाथ महादेव, चन्द्र नहरबारे पुस्तिकामा चर्चा गरिएको छ ।
यस्तै, मूर्तिया, नाढीमन ताल, जलेश्वर महादेव मन्दिर, हनुुमान मन्दिर, बाबाताल, हात्तीदह सिमसार, टुटेश्वरनाथ धाम, कारिक स्थान पडौल, सहिद स्मृति पार्क, शिव मन्दिर, निजानन्द धाम, सिद्धबाबा हाइकिङ, जनकपुर रेलमार्ग र बरहवातालबारे पुस्तिकामा जानकारी गराइएको छ ।
महोत्सवस्थलमा विभिन्न प्रदेशका कक्ष रहेका छन् । दुई सय ५० कक्षमध्ये मधेस प्रदेशको दुई कक्षसँगै सूूदुरपश्चिमको एक, कोशीका तीन, बागमतीका पाँचवटा कक्ष छन् । तीनवटै प्रदेशका मौलिक उत्पादनलाई बिक्रीमा राखिएको छ । महोत्सव माघ १९ गते समापन हुनेछ ।