काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले संविधानले नचिनेको संयन्त्रको सल्लाह लिएर सरकारले अध्यादेश ल्याएको दाबी गरेका छन् ।
शुक्रबार संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधनका क्रममा वाग्लेले भूमिसम्बन्धी अध्यादेश अत्यन्त विवादित भएको बताएका छन् । उनले सामाजिक सञ्जालसम्बन्धी विधेयक सरकारले तत्काल फिर्ता लिएर संशोधन गर्नुपर्ने बताए ।
‘नेपालको जाँचबुझ आयोग अनुसार सबै नेताको सम्पत्ति छानबिन होस् । सबै काण्डको छानबिन समिति गठन गर्नुपर्छ । ७ महिनामा सरकार एकै व्यक्तिमाथि खनियो । निर्वाचित अधिनायकत्वतर्फ सरकार गयो । अध्यादेशमा एक दुई कुरा राम्रा छन्’, उनले भने, ‘’राम्रालाई हामी पनि राम्रो भन्छौँ। भूमि सम्बन्धी अध्यादेश अत्यन्त विवादित छ । संविधानले नचिन्ने संयन्त्र बनाएर अध्यादेश ल्याउने काम गरियो । आसेपासेले ऐन बनाउने काम आपत्तिजनक छ । सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता लिएर फेरि संसाधनसहित पेस गर्नुपर्छ ।’
उनले दुई ठूला दलको बलमा बनेको सरकार भए पनि अर्थतन्त्र तंग्रिन नसकेको बताए ।