
काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ वार्षिक प्रतिवेदन आ.व. २०८०–०८१’ पेस गर्ने कार्यसूची छ ।
यसैगरी, सांसद शेर बहादुर कुँवरले ‘सुदूरपश्चिम र कर्णाली प्रदेशका केही जिल्लाका विपन्न र पछाडि परेका नागरिकहरूले विभिन्न अस्पतालबाट निःशुल्क सेवा पाउँदै आएकोमा नेपाल सरकार र प्रदेश सरकारबाट प्रदान गरिने अनुदान रकमको अभावले गर्दा सेवाबाट बञ्चित हुने अवस्था आएकोले उक्त अस्पतालहरूबाट पाउँदै आइरहेको सेवाको निरन्तरता हुनुपर्ने’ भन्ने सार्वजनिक महत्वको विषयमाथि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको ध्यानाकर्षण गराउने छन् ।