जोडिनुहोस
  • होमपेज
  • बुकीपाटनमा प्लास्टिक फोहर बढ्दै, पर्यावरणीय क्षति हुने जोखिम

बुकीपाटनमा प्लास्टिक फोहर बढ्दै, पर्यावरणीय क्षति हुने जोखिम

ढोरपाटन (बागलुङ)। पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेसँगै ढोरपाटनको बुकीपाटन क्षेत्रमा प्लास्टिकजन्य फोहर बढ्दै गएको छ।

ढोरपाटन नगरपालिका–९ को पाखाथर हुँदै पुगिने बुकीपाटनमा पर्यटकले खानेकुरा, पेयपदार्थका प्लास्टिक तथा सिसा खोलाहरू जथाभावी फाल्दा पाटन क्षेत्र कुरुप बन्ने खतरा बढेको हो।

स्थानीय गोठालाहरूले फालिएका प्लास्टिक फोहर घाँससँगै पशुले खाँदा बिरामी हुने र मृत्युसमेत हुने गुनासो गरेका छन्।

सिकार आरक्ष र नगरपालिकाले फोहर व्यवस्थापनको प्रयास गरे पनि प्रभावकारी नभएको स्थानीयहरू बताउँछन्। पदमार्ग र पाटन क्षेत्रमा बनाइएका खाडलहरूको प्रयोग नहुँदा फोहर छरपस्ट भएको हो।

बुकीपाटन पुग्ने पर्यटकका लागि हालसम्म कुनै मापदण्ड नबनाइएका कारण फोहर व्यवस्थापन चुनौती बनेको ढोरपाटनका होटल व्यवसायी र स्थानीयवासीको भनाइ छ।

काठमाडौँबाट घुम्न पुगेका नितेश राजभण्डारीका अनुसार प्राकृतिक रूपमा सुन्दर यो क्षेत्र प्लास्टिक फोहरले बिग्रिने सम्भावना बढेको छ।

सिकार आरक्ष कार्यालयले होटल व्यवसायी र संघसंस्थाको सहयोगमा सरसफाइको प्रयास गरे पनि फोहर बढ्नुमा पर्यटकको लापरवाही मुख्य कारण भएको जनाएको छ।

स्थानीयहरू र विज्ञहरूले तत्काल फोहोर नियन्त्रणका लागि पर्यटकलाई जिम्मेवार बनाउने नीति र स्पष्ट मापदण्ड तय गर्न सुझाव दिएका छन्।

धेरै टिप्पणी गरिएका