
पाँचथर।पाँचथरका विभिन्न स्थानमा वनमा लागेको डढेलोमा परी एक युवतीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
कुम्मायक गाउँपालिका–३ ताम्राखुमा वनमा लागेको डढेलोमा परेर २६ वर्षीया प्रतिमा सम्बाहाम्फेको मृत्यु भएको हो । प्रहरीका अनुसार प्रतिमासँगै घाँस काट्न गएका अन्य चार जना पनि डढेलोमा परेर घाइते भएका छन् । घाइतेहरूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।
यसैगरी, फिदिम नगरपालिका–१३ जैवारीस्थित रानीवन सामुदायिक वनमा लागेको डढेलोमा परेर फिदिम–१४ की ४७ वर्षीया उषा नेम्बाङ राई घाइते भएकी छिन् । दाउरा बोकेर आउने क्रममा उनी डढेलोमा परेकी थिइन् । उनको पनि धरानमा उपचार भइरहेको छ ।
स्थानीय प्रशासनले डढेलो नियन्त्रणका लागि प्रयास जारी राखेको छ ।




































