
काठमाडौं । राजसंस्था पुनर्स्थापनाको मागसहित आन्दोलनरत राजावादी नेताहरूलाई सरकारले दिएको व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) सुविधा आन्दोलन नरोएसम्म नदिइने भएको छ। बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री रमेश लेखकले आन्दोलनका कारण सुरक्षा चुनौती बढेको जनाउँदै पीएसओ फिर्ता गर्नुपरेको बताएका हुन्। उनले भने, जहाँ सुरक्षा बढी चाहिन्छ, त्यहाँ सुरक्षाकर्मी पठाइएको हो। आन्दोलन रोकिएपछि पुनः अंगरक्षक खटाइनेछ।
गृहमन्त्री लेखकले गणतन्त्र, संघीयता र लोकतन्त्रको व्यवस्था उल्ट्याउने प्रयासप्रति पनि चेतावनी दिए। संविधानका आधारभूत संरचनाविरुद्ध जाने कुनै पनि प्रयास देशलाई अन्धकारतर्फ लैजान्छ, उनले भने।
केही दिनअघि राप्रपाका ध्रुवबहादुर प्रधान, दीपक सिंह र ज्ञानबहादुर शाहीका अंगरक्षक फिर्ता गरिएका थिए। हालसम्म उनीहरूलाई पीएसओ पुनः खटाइएको छैन। प्रहरीले सुरक्षा व्यवस्थापनलाई प्राथमिकता दिँदै यस्तो निर्णय लिएको जनाएको छ।