जोडिनुहोस
  • होमपेज
  • बलान नदीको कटानले सुन्दरपुर बस्ती जोखिममा

बलान नदीको कटानले सुन्दरपुर बस्ती जोखिममा

सिरहा ।सिरहाको लहान नगरपालिका–४ स्थित बलान नदीको कटानले सुन्दरपुर र इस्लामपुरका मुस्लिम बस्तीहरू डुबानको जोखिममा परेका छन् । नदी कटान तीव्र बन्दै गएकाले सुन्दरपुरका ४५ र इस्लामपुरका ३० घरधुरी अहिले बाढीको चपेटामा छन् ।

साना–साना झुपडीसहितका बस्ती नदीको किनारमै छन्, जहाँ कटानको दूरी अब पाँच मिटर मात्र बाँकी रहेको स्थानीयवासी बताउँछन् । शनिबार राति परेको लगातारको वर्षाले बलान नदीमा आएको बाढीले कटान झनै तीव्र बनाएको छ । बस्ती छेउमै रहेको खुट्टी खोलासँगको दोभान क्षेत्रसमेत कटानमा परेको छ ।

स्थानीय मेहम्मद हुसेन अन्सारीका अनुसार बस्तीका बासिन्दा बाढीको त्रासमा रातभर निदाउन सकेका छैनन् । “हिजो रातभरि उठेर खोला हेर्दै बसियो । कतिबेला बाढी बस्ती छिर्छ र डुबाउँछ भन्ने चिन्ताले निदाउन दिएन । चार वर्षदेखि यही समस्या झेल्दै आएको छौँ”, उनले भने, “नदीको मूल भङ्गालो पश्चिमतिर गएकाले अलि राहत भएजस्तो देखिएको थियो तर जुनसुकै बेला फेरि पूर्वपट्टि फर्किएर बस्ती नै बगाउन सक्छ ।”

स्थानीय मोहम्मद एफ्रोज पनि बाढीले चिन्तित छन् । उने भने, “नदीको मुखैमा मेरो घर छ । थोरै बहाव बढ्यो कि मन अत्तालिन्छ । गए राति पनि सुत्न सकिएन । साना बालबच्चा छन्, छोडेर कहाँ जानु ? रातभर नजिकैको मदरसा पुगेर जाग्राम बस्नुपर्ने अवस्था सुरु भइसकेको छ ।”

अघिल्लो वर्ष पनि यस क्षेत्रमा बाढी पसेको थियो । नगरपालिकाले तीन दिनसम्म बस्ती खाली गराई सुरक्षित स्थानमा सारेर खानेबस्ने व्यवस्था गरेको थियो । तर स्थायी समाधान नहुँदा समस्या दोहोरिँदो छ । वडाध्यक्ष रामनाथ पण्डितका अनुसार बस्ती जोखिम मुक्त बनाउन स्थायी समाधान दिने उद्देश्यले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सिरहाबाट विनियोजित रु २५ लाखको योजना भए पनि काम पूरा हुन नपाएको जानकारी दिए ।

उनले भने, “उक्त बजेटमध्ये रु १५ लाखको मात्र काम भएको छ । त्यो पनि असार सकिनै लाग्दा हतार हतारमा गरिएको थियो । ठेकेदारले बीचमै काम छोडेर हिँड्दा बाँकी रकम फिर्ता हुन गयो ।” नदी नियन्त्रणमा त्यति काम पर्याप्त नभएको वडाध्यक्ष पण्डितको भनाइ छ ।

बलान नदीले बस्ती कटान गर्दै अगाडि बढेमा करिब ५०० मिटर तर रहेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको पुलसमेत जोखिममा पर्ने सम्भावना छ । बस्ती कटान भएपछि नदीले स्वरुप परिवर्तन गर्न सक्ने र संरचना जोखिममा पार्ने खतरा रहेको स्थानीयको भनाइ छ । यसबाट लाखौँ खेतीयोग्य जमिनसमेत कटानको चपेटामा पर्नेछ ।

नदी नियन्त्रण शीर्षकमा बजेट नहुँदा पनि विपद् व्यवस्थापन कार्यक्रममार्फत केही रकम व्यवस्थापन गर्ने योजना रहेको नगरप्रमुख महेशप्रसाद चौधरीले बताए । बाढीले क्षति पु¥याउने अवस्था आएमा मानवीयताका आधारमा प्रभावित बस्तीलाई सुरक्षित स्थानमा सारिने उहाँले जानकारी दिए ।

नगरप्रमुख चौधरीले बलान नदी नियन्त्रणका लागि प्रदेश तथा सङ्घीय सरकारबाट सहयोगको अपेक्षा व्यक्त गरे । उनले भने, “हामी प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरी दीर्घकालीन समाधानका लागि पहल गरिरहेका छौँ । जनताको सुरक्षालाई प्राथमिकता दिनु हाम्रो दायित्व हो ।”

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14