जोडिनुहोस
  • होमपेज
  • झुम्का कारागारमा अज्ञात रोगबाट चार दिनमा ३ कैदीको मृत्यु, १३ जना बिरामी

झुम्का कारागारमा अज्ञात रोगबाट चार दिनमा ३ कैदीको मृत्यु, १३ जना बिरामी

सुनसरी। अज्ञात रोगका कारण सुनसरीको झुम्का कारागारमा चार दिनभित्र तीन जना कैदी बन्दीको मृत्यु भएको छ । कैदीबन्दीहरूमा उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र वान्ता हुने जस्ता लक्षण देखिएकोले उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।

सुनसरीका प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाका अनुसार पछिल्लो पटक बुधबार दिउँसो अचानक बेहोस् भएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएका सप्तरीको राजविराज–८ का ४६ वर्षीय जलेश्वर यादवको बुधबार साँझ मृत्यु भएको छ । उनी जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका थिए ।

यसअघि गत १५ गते एक जना र १६ गते अर्का एक कैदीको मृत्यु भएको थियो । अहिले उच्च ज्वरोका कारण १३ जना विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत छन् ।

कारागार प्रशासनका अनुसार सुनसरीको गढी गाउँपालिका–६ बस्ने ४८ वर्षीय रामदेव उराव र धरानका २४ वर्षीय सागर राईको मृत्यु भएको थियो । उराव कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका थिए भने राई लागूऔषध मुद्दामा पुर्पक्षको लागि कारागारमा रहेका थिए ।

कारागारमा विरामी बढ्न थालेपछि जिल्ला सुरक्षा समिति सुनसरीको टोलीले अनुगमन गरी बुधबार रातिदेखि नै स्वास्थ्य शिविर सञ्चालन गरेको छ । झुम्का कारागारमा आजको गन्ती अनुसार १७ सय ९५ कैदी रहेको कारागार प्रशासनले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका