देश
युद्धविरामपछि नेपालीहरुलाई कार्यक्रममा देख्न पाउँदा इजरायलका लागि नेपाली राजदुत पण्डितद्वारा खुशी व्यक्त

काठमाडौं – इजरायलका लागि नेपाली राजदुत धनप्रसाद पण्डितले इरान–इजरायल युद्ध अन्त्य भएकोमा खुशी लागेको बताउनु भएको छ ।
शुक्रबार नेपाल आदिबासी जनजाति महासंघ, नेफिन इजरायलको १३औं वार्षिकोत्सव तथा साधारण सभा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
इरान–इजरायलको १२ दिनको लामो युद्धको चपेटामा परेका नेपालीहरुको ज्यानको सुरक्षाका लाग आफूले सक्रिय भूमिका खेलेको उहाँले बताउनुभयो । नेपालीहरुको उद्दार र सुरक्षाका लागि नेपाल सरकारसँग पनि आफूले समन्वय गरेको बताउनुभयो ।
युद्धविरामपछि नेपालीहरुलाई कार्यक्रममा देख्न पाउदा खुशी लागेको पनि उहाँले बताउनुभयो । इजरायलका लागि नेपाली राजदुत धन प्रसाद पण्डितको प्रमुख आतिथ्यतामा सम्पन्न भएको यस वार्षिकोत्सव तथा साधारण सभाले आगामी एक वर्षको लागि नयाँ नेतृत्व सहितको कार्यसमिति चयन गरेको छ ।
आदिवासी पहिचान, अस्तित्व र पूर्ण अधिकार सहितको स्वायत्तता प्राप्ति हाम्रो प्रतिबद्धता र निरन्तरता भन्ने मूल नारासहित नेफिन इजरायलको वार्षिकोत्सव तथा साधारण सभा आयोजना गरेको थियो ।
सन् २०१२ मा स्थापना भएको यस संघले आदिवासी जनजातिहरुबीचमा आपसी एकता भेषभूषा, भाषा, लिपि, कला संस्कृतिको संरक्षण र सम्वद्र्धनको लागि विभिन्न कार्यक्रमहरुको आयोजना र पैरवी गर्दै आएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ, नेफिन इजरायल शाखामा नेपाल तामाङ घेदुङ, नेपाल मगर संघ, तमू समाज, राष्ट्रिय नेवा ः खल, किराँत याक्थुङ चुम्लुङ, किराँत राई यायोख्खा, शेर्पा संघ, होल्मो समाज सहित आठ वटा जातिय सदस्य संगठनहरु आवद्ध रहेका छन् ।