जोडिनुहोस
  • होमपेज
  • सहयोग जुटाएर तुलसीपुरमा एकाघरका चार दृष्टिविहीनलाई आवास निर्माण सुरु

सहयोग जुटाएर तुलसीपुरमा एकाघरका चार दृष्टिविहीनलाई आवास निर्माण सुरु

तुलसीपुर (दाङ)। आर्थिक सहयोग संकलन गरी तुलसीपुर उपमहानगरपालिका–४ स्थित एकाघरका चार दृष्टिविहीन दाजुबहिनीलाई आवास निर्माण गर्न थालिएको छ। तुलसीपुरका व्यवसायी यज्ञबहादुर केसीको संयोजकत्वमा निर्माण समिति गठन गरी सोमबारदेखि घर निर्माणको काम सुरु भएको हो। तेइस वर्षीय गणेश गन्धर्व, उनकी बहिनी गङ्गा, जमुना र मनिषा जन्मजात नै दृष्टिविहीन हुन्। मनिषा दृष्टिविहीनका साथै बहुअपाङ्गता भएकी १६ वर्षीया किशोरी हुन् र उनी हिँडडुल गर्न पनि सक्दिनन्।

रुकुमपश्चिमको सानीभेरी गाउँपालिका गरायलाकी आमा रुपा गन्धर्वसहित उनीहरू २०६८ सालमा दाङको तुलसीपुर झरेका थिए। रुपाले बताइन्, “सबै छोराछोरी दृष्टिविहीन जन्मिएपछि श्रीमान्ले अर्को विवाह गर्नुभयो।” त्यसपछि श्रीमान्ले कुनै वास्ता नगरेको र घरबाट निकालेपछि बिचल्ली अवस्थामा रहेकी रुपालाई उद्धार गरी तुलसीपुरस्थित रक्षाचौर ल्याइएको थियो।

विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा उनीहरू दाङको तुलसीपुर आए पनि भाडाको घरमा बस्दै आएका थिए। “कहिले कसको घरमा भाडामा बस्यौँ, कहिले कसकोमा,” गणेशले भने, “लामो समय कसैले पनि बस्न दिएनन्।” यसरी भाडामा बस्दा पनि दुःख झेलेका उनीहरू अहिले आवास निर्माण हुन थालेपछि खुसी छन्। सारङ्गी बजाएर र गीत गाएर गणेशले आम्दानी गर्थे र त्यसैले घरखर्च चल्ने गरेको थियो। अब घर बनेपछि भाडा तिर्न नपर्ने हुँदा सहज हुने गणेशले बताए। “भाडा तिर्न पनि गाह्रो हुन्थ्यो, घर बनेपछि भने अब सहज हुने भयो,” उनले भने।

करिब १५ लाख रुपैयाँ लागत अनुमान गरी घर निर्माण सुरु गरिएको निर्माण समितिका संयोजक केसीले बताए। “सबै सन्तान दृष्टिविहीन, बास पनि नभएपछि हामीले घर बनाइदिने गरी काम अघि बढाएका छौँ,” उनले भने। अबको एक महिनाभित्र घर निर्माण पूरा भइसक्ने उनको भनाइ छ। यसै क्रममा केसीले अहिलेसम्म घर निर्माणका लागि ४० हजार रुपैयाँ सहयोग गरिसकेका छन्।

निर्माण भइरहेको घरको सबै खर्च व्यहोर्ने गरी काम अघि बढाइरहेको उनले बताए। दृष्टिविहीन गणेशसहित गङ्गा र जमुना गुरुजजुर नमूना माध्यमिक विद्यालयमा ब्रेल लिपि मार्फत अध्ययन गर्छन्। हाल आमा रुपाको खातामा विभिन्न संघसंस्थाको सहयोगमा सात लाख रुपैयाँ जम्मा भएको थियो। त्यो रकम बैंकमा मुद्दती खातामा राखिएको छ र त्यसबाट आउने मासिक ब्याजले पनि घर खर्च चलाउन सजिलो भएको बताइएको छ।

धेरै टिप्पणी गरिएका