जोडिनुहोस
  • होमपेज
  • विमा रकम नआएपछि पशुपति चौलागाई स्मृति अस्पताल आर्थिक सङ्कटमा

विमा रकम नआएपछि पशुपति चौलागाई स्मृति अस्पताल आर्थिक सङ्कटमा

दोलखा ।सदरमुकाम चरिकोटस्थित पशुपति चौलागाई स्मृति अस्पताल आर्थिक अभावका बीचमा पनि स्वास्थ्य सेवा निरन्तर रूपमा प्रदान गरिरहेको छ।

अस्पताल सञ्चालक समिति अध्यक्ष सुवास रिमालका अनुसार लामो समयदेखि स्वास्थ्य बीमा बापतको रकम नआएपछि अस्पताल आर्थिक सङ्कटमा परेको हो। उनका अनुसार सरकारले पठाउनुपर्ने निशुल्क औषधि पनि उपलब्ध हुन नसक्दा समस्या थपिएको छ।

रिमालले सामाजिक सञ्जालमा आएकोजस्तो सबै सेवा बन्द नभएको स्पष्ट पार्दै भने, “आर्थिक अभावका कारण स्वास्थ्य बीमा गरिएका बिरामीलाई सबै प्रकारका औषधि दिन सकिरहेका छैनौं, तर अन्य सबै सेवा निरन्तर छन्।”

अस्पतालका तथ्यांक अनुसार बीमा बोर्डले १५ महिना अघिदेखि ८४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी राखेको छ। केही समयअघि बोर्डले १० हजार रुपैयाँ मात्र पठाएको अस्पतालले जनाएको छ।

मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मण खड्काका अनुसार गत वर्ष ४० लाख रुपैयाँ बराबरको औषधि खरिद गरिएको थियो, तर आर्थिक अभावका कारण यस वर्ष औषधि खरिद गर्न नसकिएको हो। “विगत छ महिनादेखि स्वास्थ्य बीमा भएका बिरामीलाई सबै औषधि दिन नसकिएको अवस्था छ,” डा. खड्काले बताए।

अस्पतालको वार्षिक आन्तरिक आम्दानी करिब तीन करोड रुपैयाँ भए पनि त्यो रकम कर्मचारी तलब र विद्युतीय खर्चमै जाने भएकाले औषधि खरिदमा प्रयोग गर्न नसकिएको अस्पताल स्रोतले जनाएको छ।

अझ सरकारले निशुल्क उपलब्ध गराउने ३२ प्रकारका औषधि, जसमध्ये केही अतिआवश्यक औषधि समेत, प्राप्त नभएपछि अस्पताल थप सङ्कटमा परेको छ। रिमालका अनुसार ती औषधि माग गर्दै पटक–पटक फारम पठाइए पनि सरकारबाट आपूर्ति हुन सकेको छैन।

सङ्कटका बावजुद अस्पतालले ओपीडी, एक्स–रे, भिडियो एक्स–रे, इसिजी, नर्मल र सिजेरियन डेलिभरी, दन्त, खोप, परिवार नियोजन, सर्जरी, गर्भपतन, हाडजोर्नी, डायलासिस, छाला, मानसिक, र नाक–कान–घाँटी सेवासहितका उपचार निरन्तर गर्दै आएको छ। यी सेवामध्ये केही निशुल्क र केही न्यून शुल्कमा उपलब्ध छन्।

मासिक करिब ६ हजार बिरामी सेवा लिने यो अस्पतालमा १९ जना चिकित्सक र ५१ बेड छन्। यहाँ १२ सय जना बीमा अन्तर्गतका बिरामी सेवा लिँदै आएका छन् भने सात जनाले नियमित डायलासिस सेवा लिइरहेका छन्। भर्ना भएका बिरामी र तिनका कुरुवाका लागि अस्पतालले निशुल्क बेड र खानाको व्यवस्था गरेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका