
काठमाण्डु – अमेरिकाको भर्जिनियामा एकै परिवारका चार नेपाली मृत भेटिएका छन्।
भर्जिनियाको मानेसास पार्कस्थित एक घरमा दुई बालबालिका, एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेका हुन्।
घरधनीले प्रहरीलाई आफ्नो घरमा भाडामा बसेका व्यक्तिहरूको अवस्था बुझ्न अनुरोध गरेका थिए।
त्यसपछि घटनास्थल पुग्दा तलको अपार्टमेन्टमा चार जनालाई मृत अवस्थामा फेला पारिएको प्रहरीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ।
मृतकमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीय अञ्जु श्रेष्ठ, २ वर्षीय बालक र ८ वर्षीय बालिका छन्।
उनीहरू सबैको गोली लागेर मृत्यु भएको देखिएको र प्रहरीले यस घटनालाई हत्यापछि आत्महत्या भएको आशङ्कामा अनुसन्धान गरिरहेको छ।
घटनास्थलमा हतियार पनि फेला परेको प्रहरीले जनाएको छ। अनुसन्धान जारी छ।
एनबीसी वासिङ्टन (न्यूज ४) सँग कुरा गर्दा छिमेकीहरूले मृतकहरू करिब ६ महिना अघि सो बस्तीमा बसाइँ सरेका थिए।
मानेसास पार्क उत्तर भर्जिनियामा रहेको एउटा सहर हो, जुन वासिङ्टन डीसीबाट करिब ३० माइल दक्षिण–पश्चिममा, प्रिन्स विलियम काउन्टीको बिचमा पर्छ।