जोडिनुहोस
  • होमपेज
  • विकास निर्माणको नाममा हरेक वर्ष काटिन्छ एक लाख २० हजार रुख

विकास निर्माणको नाममा हरेक वर्ष काटिन्छ एक लाख २० हजार रुख

पूर्वाधार विकास निर्माणको नाममा हरेक वर्ष करिब एक लाख २० हजार रुख काटिने गरेको पाइएको छ। हरेक वर्ष सरदर ४५ वटा आयोजनाका लागि ६०५ हेक्टर क्षेत्रफलमा यो सङ्ख्यामा रुख काटिने गरेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहसचिव दीपक ज्ञवालीले सडक, सिँचाइ, ऊर्जा, रेलमार्ग, विमानस्थल निर्माण तथा विस्तार, केबुलकार निर्माण तथा विभिन्न सरकारी भवन निर्माणका वार्षिक सरदर ६०५ हेक्टर वनजङ्गल क्षेत्रको करिब एक लाख २० हजार रुख काट्न मन्त्रालयले अनुमति दिने गरेको बताए।

हरेक वर्ष झण्डै एक सय हाराहारीका विकास योजना निर्माणका लागि रुख कटानको अनुमति माग्दै मन्त्रालयमा निवेदन आउने गरेकामा आधाको हाराहारीमा अनुमति दिने गरिएको उनले बताए। ‘विगत ६ वर्षको तथ्याङ्कका आधारमा एउटा आयोजनाका लागि करिब १४ हेक्टर वन क्षेत्रको रुख काट्नुपर्ने अवस्था छ’, उनले भने, ‘पछिल्लो समय पूर्वाधार आयोजना निर्माणका लागि कटान गर्नुपर्ने वन क्षेत्र र रुखको सङ्ख्या बढ्दै गएको छ।

क्षतिपूर्तिस्वरूप रुख रोप्ने प्रावधान हटाइयो

रुख कटान गरेपछि सम्बन्धित आयोजनाले क्षतिपूर्तिबापत रुख रोप्नुपर्ने प्रावधान हटाइएको छ। यसअघि एउटा रुख काटे बराबर २५ वटा रुख रोप्नुपर्ने व्यवस्था थियो। रुख रोप्नु र त्यसलाई हुर्काउने प्रक्रिया प्राविधिक विषय भएको र त्यो काम सम्बन्धित आयोजनाले सफलतापूर्वक गर्न नसक्ने देखिएकाले रुख रोप्न र हुर्काउन लाग्ने खर्च वन विकासमा जम्मा गर्नेुपर्ने प्रावधान लागु गरिएको सहसचिव ज्ञवालीले बताए।

यसअघि सरकारले नेपालमा वृक्षरोपणको २० बर्से महाअभियान सुरु गरी वार्षिक तीन करोड बिरुवा रोप्ने घोषणा गरिसकेको छ। ‘सगरमाथा वृक्षरोपण महाअभियान’ नाममा सन् २०२५ देखि २०४५ सम्म २० बर्से वृक्षरोपण महाअभियान चलाइने भएको हो। गोरखापत्र दैनिकमा समाचार छ

धेरै टिप्पणी गरिएका