जोडिनुहोस
  • होमपेज
  • कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन

कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन भएको छ ।

उच्च रक्तचाप र मधुमेहलगायतका स्वास्थ्य समस्या देखिएपछि विगत एक महिनादेखि सीनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचाररत आलमको आज बिहान २ बजे निधन भएको अस्पतालले जनाएको छ । दसैँअघिदेखि अस्पतालमा भर्ना भएका आलमको पछिल्लो एक सातादेखि अवस्था गम्भीर बनेपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

आलमको निधनको जानकारी अस्पतालका सञ्चालक तथा नेपाली कांग्रेसका निवर्तमान सांसद डा. सुनिल शर्माले दिए ।आलम विसं २०५१ को उपनिर्वाचनमा पहिलो पटक सांसद निर्वाचित भएका थिए । त्यसपछि उनले २०५४ मा श्रम राज्यमन्त्री र २०५५ मा वन राज्यमन्त्रीको जिम्मेवारी पाएका थिए । उनी २०५६ सालको संसदीय निर्वाचन र २०६४ को पहिलो संविधानसभा निर्वाचनमा पनि विजयी भएका थिए । त्यसपछि उनले भूमि सुधार तथा श्रम तथा यातायात मन्त्रीका रूपमा काम गरेका थिए । विसं २०६७ को नेपाली कांग्रेसको १२औँ महाधिवेशनमा उनी केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

आलममाथि २०६४ चैत २७ गते संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजपुरमा भएको बम विस्फोटमा घाइते भएका त्रिलोकप्रताप सिंह राजपूत (पिन्टु) र ओसी अख्तरलाई इँटाभट्टामा जलाएको आरोप लागेको थियो । सो कसुरमा जिल्ला अदालत रौतहटले उनलाई जन्मकैदको फैसला गरेको थियो ।

गत जेठ १४ गते उच्च अदालतको आदेशपछि कारागारमुक्त भएका आलमलाई त्यसको केही समयमै ब्रेन स्ट्रोक भएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका