
काठमाडौं। भारतीय जनता पार्टी (भाजपा) का पूर्व उपाध्यक्ष भगत सिंह कोश्यारीले काठमाडौंमा उच्च राजनीतिक भेटघाट गरिरहे पनि त्यसको उद्देश्य भने अस्पष्ट रहेको छ। उत्तराखण्डका पूर्व मुख्यमन्त्री समेत रहेका कोश्यारीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरूसँग भेटवार्ता गरेका छन्।
आफ्नो भ्रमणलाई ‘नितान्त व्यक्तिगत’ भन्दै कोश्यारीले बद्रीनाथ मन्दिर निर्माण समितिको निमन्त्रणामा नेपाल आएको र पुराना साथीहरूसँग भेटघाट मात्र गरेको बताएका छन्। उनले राजनीतिक विषयमा कुनै छलफल नभएको दाबी गरे पनि उच्चस्तरीय भेटघाटलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका छन्।
कतिपय विश्लेषकहरूले सक्रिय राजनीतिबाट टाढिए पनि कोश्यारी राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) को उच्च तहमा रहेकाले उनको भ्रमणलाई सामान्य रूपमा लिन नमिल्ने बताउँछन्। उनी नेपालको आन्तरिक राजनीति र अवस्थाको जानकारी लिन आएको हुनसक्ने अनुमान गरिएको छ।
यसअघि अन्य भाजपा नेताहरूले राप्रपाका नेताहरूसँग भेट नगरेको सन्दर्भमा कोश्यारीले पनि राप्रपाका नेताहरूसँग भेट नगरेको बताइएको छ। यसलाई भारतले नेपालको राजसंस्था आन्दोलनलाई बेवास्ता गर्न खोजेको रूपमा पनि हेरिएको छ।
पत्रकार युवराज घिमिरेले नेपालमा भारतीय कूटनीतिक विश्वसनीयता खस्किएको आकलन भारतमा पनि रहेकाले कोश्यारीले त्यसको अवस्था बुझ्न भ्रमण गरेको हुनसक्ने बताएका छन्।
कोश्यारीको यो भ्रमणले नेपाल-भारत सम्बन्ध र क्षेत्रीय राजनीतिक वृत्तमा थप चासो र बहस सिर्जना गरेको छ।





































