
कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका मुस्कान चौधरी वैदेशिक रोजगारीबाट फर्किएपछि व्यावसायिक तरकारी खेतीमा रमाएका छन्। छ वर्षदेखि निरन्तर तरकारी खेती गरिरहेका चौधरीले मलेसियामा चार वर्ष बिताएपछि स्वदेशमै पसिना बगाएर वार्षिक सात लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन्।
वैदेशिक रोजगारीबाट फर्केर चौधरीले चार कठ्ठा जग्गा थपेपछि उनको कुल जग्गा नौ कठ्ठा पुगेको थियो। त्यही जग्गामा उनले बाह्रै महिना तरकारी खेती गर्दै आएका छन्। “थोरै जग्गा थियो, सात जनाको परिवारको खर्च चलाउन चुनौतीपूर्ण थियो,” उनले भने, “घर फर्केर चार कठ्ठा जग्गा थपेपछि केही सहज भएको छ।”
पहिला घरका लागि मात्र थोरै तरकारी लगाउने गरिएको भए पनि व्यावसायिक रूपमा खेती गर्ने आर्थिक क्षमता थिएन। वैदेशिक रोजगारीबाट कमाएको रकम लगानी गरेर व्यावसायिक तरकारी खेतीमा लाग्ने निर्णय चौधरीले गरे। परिवारका सदस्यले पनि साथ दिने वचन दिएपछि उनी पूर्ण रूपमा तरकारी खेतीमा होमिए। पहिलो वर्ष नै सोचेभन्दा बढी आम्दानी भएपछि उत्साहित हुँदै उनले यो पेशालाई निरन्तरता दिँदै आएका छन्। गत हिउँदमा मात्रै उनले काउलीबाट ८० हजार र लहरेबालीबाट ६० हजार रुपैयाँ आम्दानी गरे।
मुस्कानले वैशाखदेखि असारसम्म काँक्रा, बोडी, तरबुजा, तितेकरेला, तोरैया र खुर्सानी लगाउँछन् भने वर्षातमा लौका, काँक्रा र फर्सी। हिउँदमा भने काउली, गोलभेडा र खुर्सानी उनको मुख्य बाली हुन्छ। मौसमी र बेमौसमी तरकारी खेती गर्दै आएका चौधरीले बेमौसमी तरकारीबाट राम्रो आम्दानी लिने गरेका छन्।
उनको सात जनाको परिवारको सम्पूर्ण खर्च र बालबालिकाको विद्यालय खर्च तरकारी खेतीकै आम्दानीबाट धानिएको छ। चौधरीसँग विदेशबाट फर्केर किनेको चार कठ्ठा र पहिलेदेखिको पाँच कठ्ठा गरी कुल नौ कठ्ठा जग्गा छ। चार कठ्ठामा बाह्रै महिना तरकारी खेती हुन्छ भने पाँच कठ्ठामा गहुँ र धान जस्ता अन्नबाली लगाइन्छ। तरकारी बारी तयार गर्ने, बीउ रोप्ने, मल राख्ने, गोडमेल गर्ने र तरकारी टिपेर बजारसम्म पुर्याउन उनको पूरै परिवार खटिन्छ। उनी आफैँ मोटरसाइकलमा तरकारी राखेर महेन्द्रनगरको सब्जीमण्डी र झलारी बजारमा बिक्री गर्छन्।
“वैदेशिक रोजगारीमा हुँदा तलब मात्रै पाइन्थ्यो,” उनले भने, “व्यावसायिक तरकारी खेतीमा जति मिहिनेत गर्यो, त्यति नै प्रतिफल पाइन्छ। टाढाको देशमा एक्लो भइने, अहिले परिवारसँग सुखदुःख बाँड्न पाइएको छ। दुःख बिरामी हेर्ने मान्छे परिवारमा छन्, विदेशमा त्यस्तो केही हुँदैनथ्यो। स्वदेशमै जति कमाइ भए पनि म सन्तुष्ट छु, अब फर्केर विदेश जाने योजना छैन।”
थोरै जग्गामा धेरै तरकारी फलाउने किसानको रूपमा चौधरीलाई शुक्लाफाँटा नगरपालिकाको कृषि विकास शाखाले उत्कृष्ट कृषकको प्रमाणपत्रसहित पुरस्कृत गरिसकेको छ। वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी मुस्कानलाई मिहिनेती र साहसी किसानको रूपमा चिन्छन्। “थोरै जग्गामा बाह्रै महिना व्यावसायिक रूपमा तरकारी खेती गरेर राम्रो आम्दानी गर्ने किसानमा मुस्कान पर्छन्,” उनले भने, “उहाँको काम अरू किसानले पनि अनुसरण गर्नुपर्छ।”
पिपलाडी नगरपालिका क्षेत्रकै सबैभन्दा बढी व्यावसायिक तरकारी खेती हुने क्षेत्रको रूपमा परिचित छ। यहाँका ५० भन्दा बढी किसान व्यावसायिक तरकारी खेतीमा संलग्न छन्।





































